१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

कोरला सडक मर्मत गर्न डोजरलाई छैन डिजेल

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँग व्यापार गर्ने एक मात्र विकल्प बनेको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सञ्चालनमा ल्याउन इन्धन अभाव र लालफित्ताशाही मुख्य बाधक बनेको छ।

मुख्य पर्यटकीय याममै सडक मर्मतमा प्रयोग हुने हेभी इक्विपमेन्टमा डिजेल सकिएपछि र एउटा विद्युत् टावर हटाउन भएको ढिलाइले व्यापार तथा पर्यटन पूर्ण रूपमा प्रभावित भएको छ।

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले मालढुङ्गाबाट घाँसासम्मको करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको भुरुङ्ग तातोपानी र मालढुङ्गाबाट राहुघाट खण्ड एकतर्फी खुलाइए पनि बीचको मुख्य खण्डमा मर्मतको काम रोकिएको छ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार तिल्केनीचौर-पोखरेबगर खण्डमा पहिरो पन्छाउन र सडक मर्मत गर्न डोजर, लोडर, र टिप्पर चलाउने डिजेल अभाव भएको छ।

‘यसका साथै रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ग्यान टिटावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित छ,’ प्रमुख शर्माले भने।

सडक खुलाउन अन्तर निकाय समन्वय अभाव देखिएको छ। राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट मात्र निर्णय गर्न नसकिने बताए। माथिल्लो निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेको जनाउँदै उनले यसबारे जानकारी नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

इन्धन ढुवानी गर्न र साना सवारी सञ्चालनका लागि रघुगङ्गाको पिप्ले-भगवती-बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाउने काम भइरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।

यसैबीच, सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार प्रभावित सडकको निरीक्षण गर्दै मर्मतका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। मुस्ताङतर्फबाट पनि इन्धन ढुवानीको पहल भइरहेको आयोजनाले जनाएको छ।

बाढीले तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको ‘टेलरेस डक’, निर्माण उपकरण र क्याम्पमा ठूलो क्षति पुर्‍याएको छ। त्यस्तै, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान हुनुका साथै पोखरेबगर सडक पुलको पहुँचमार्ग नै बाढीले बगाएको छ।

प्रकाशित: १७ आश्विन २०८३ १५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App