नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आन्दोलन, परिवर्तन, सुशासन, विकास, संविधान तथा कानुन निर्माण र कार्यान्वयनका लागि नीति निर्माण गरेको बताएका छन्।
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले मानवता, मानव सेवा र मानव जातिको हितलाई सर्वोपरि राखेर परिवर्तन र मानवीय जीवनको उन्नतिका लागि राजनीतिक उद्देश्य तय गरेको बताए।
‘मानवलाई समृद्ध बनाउन, सुखी बनाउन अहिले हामीले राष्ट्रको आकांक्षालाई हाम्रो पार्टीको मूल उद्देश्य बनाएका छौँ,’ उनले भने।
समृद्ध नेपाल र सुखी नेपालीको अवधारणाको कुरा गर्दै उनले आर्थिक सम्पन्नता मात्रै भएर मानिस सुखी हुन नसक्ने र सामाजिक न्याय, शान्ति, सुरक्षा, सम्मान र अधिकारको सुनिश्चितता आवश्यक रहेको बताए।
‘भयरहित वातावरणको अभाव छ भने समृद्धिले मात्रै काम गर्दैन। आतंकका बीचमा समृद्धि सुखको कारण हुन सक्दैन,’ उनले भने।
अध्यक्ष ओलीले असमानता, अधिकारविहीनता र अपमानको अवस्थामा आर्थिक रूपमा सम्पन्न भए पनि मानिस सुखी हुन नसक्ने धारणा राख्नुभयो। त्यसैले एमालेले सम्मानित जीवन र अधिकारको विषयलाई पनि समृद्धिसँगै जोडेको बताए।
समृद्धिलाई आर्थिक पक्षमा मात्र सीमित नगरी सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षसँग समेत जोड्नुपर्ने उनको भनाइ छ। ‘समृद्धि र न्याय, समृद्धि, न्याय र शान्ति, समृद्धि, न्याय, शान्ति र सम्मानजनक अर्थात् निर्भय र सम्मानजनक वातावरण सुखका कारण र आधार हुन सक्छन्,’ उनले भने।
समाजवादका विभिन्न चरण र राजनीतिक आन्दोलनका विभिन्न चरण भए पनि अन्तिम गन्तव्य सम्पूर्ण समाजको सुख र हित भएको बताए।
‘सर्वे भवन्तु सुखिनः’ को अवधारणा व्याख्या गर्दै उनले एमालेले बहुजन हित र बहुजन सुखको मात्रै नभई सर्वजन हित र सर्वजन सुखको सिद्धान्त लिएको बताए।
‘सिंगै समाज सुखी हुनुपर्दछ, त्यो हाम्रो गन्तव्य हो,’ ओलीले भने।
प्रकाशित: १६ आश्विन २०८३ १५:५३ शुक्रबार


-600x400.jpg)


