अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणले शनिबार इरान रक्तरञ्जित बन्यो। सोही आक्रमणमा विश्वले एक युग गुमाउनुपरेको छ। उक्त हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह सड्ढयद अली खामेनीको ८६ वर्षको उमेरमा हत्या भयो। उनको देहावसानले इरान मात्र होइन, सम्पूर्ण इस्लामिक जगत्लाई स्तब्ध बनाएको छ। उनी एक व्यक्ति मात्र थिएनन्, विचारधारा थिए। देशप्रेमको जीवन्त प्रतीक, साहसको पर्याय र स्वतन्त्रताको अटुट सिपाहीका रूपमा पनि उनलाई लिने गरिएको छ। उनी आफ्नो अन्तिम क्षणमा पनि इरानको स्वाधीनता र इस्लामको सम्मानका लागि लडिरहेका थिए।
अयातोल्लाह खामेनीको जन्म सन् १९३९ मा उत्तरपूर्वी इरानको मसहद सहरमा भएको थियो। यो पवित्र सहरमा सिया मुस्लिमहरूको तीर्थस्थल छ। मसहद उनको बाल्यकालको साक्षी थियो। उनको परिवार धार्मिक र सादगीपूर्ण थियो। बुबा जावद खामेनी एक सामान्य धर्मगुरु थिए, जो अजरबैजानी मस्जिदमा नेतृत्व गर्थे। आमा खादिजेह मिर्दमादी कुरान र साहित्यकी प्रेमी थिइन्। उनी बालक खामेनीमा कविता र साहित्यप्रति प्रेम जगाइन्। चार वर्षको उमेरमा कुरान सिकेर उनले धार्मिक शिक्षा सुरु गरेका थिए। मसहदको इस्लामिक स्कुलबाट प्राथमिक शिक्षा पूरा गरेपछि उच्च धार्मिक अध्ययनका लागि उनी नजफ र कोम गए। त्यहीँ उनले सन् १९५८ मा अयातोल्लाह रुहोल्लाह खोमेनीलाई भेटे अनि खोमेनीको दर्शनबाट प्रभावित भए। खोमेनिज्ममा उपनिवेशविरोधी भावना, सिया इस्लाम र सामाजिक न्यायको मिश्रण थियो। त्यो पछि उनको जीवनको आधार बन्यो।
बाल्यकालदेखि नै खामेनीमा साहसको बिउ रोपिएको थियो। १३ वर्षको उमेरमा नै उनले क्रान्तिकारी इस्लामका विचारहरू अँगाले। धर्मगुरु नवाब सफाबीका शिक्षाहरूबाट प्रभावित भएर तत्कालीन साह मोहम्मद रेजा पहलवीको शासनविरुद्ध हिंसात्मक राजनीतिक संघर्षमा समेत उनी लागेका थिए। त्यो साहस सामान्य थिएन। त्यो एक युवा हृदयको विद्रोह थियो, जसले इरानको स्वतन्त्रताका लागि आफूलाई समर्पित गरेको थियो।
सन् १९६२ देखि उनी खोमेनीका तर्फबाट साहविरुद्ध क्रान्तिकारी गतिविधिमा सक्रिय भए। सन् १९७१ मा साहको प्रहरीले उनलाई पक्राउ गरी यातना दियो। उनको संस्मरणअनुसार यो यातना उनको साहसको परीक्षा थियो तर उनी विचलित भएनन्। यो घटनाले उनलाई देशप्रेमको गहिरो बोध गरायो। इरानलाई विदेशी प्रभुत्वबाट मुक्त गर्नु उनको जीवनको ध्येय बन्यो।
सन् १९७९ को इस्लामिक क्रान्तिमा खामेनीको भूमिका महत्त्वपूर्ण थियो। साहलाई अपदस्थ गरेपछि खोमेनी निर्वासनबाट फर्किए र नयाँ इस्लामिक गणतन्त्र स्थापना गरे। खामेनीलाई क्रान्तिकारी परिषद्मा सामेल गरियो, जसले अस्थायी सरकार सञ्चालन गर्थ्याे। उनी उपरक्षामन्त्री बने र इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) को व्यवस्थापनमा सहयोग पनि गरे। यो संस्था, जसलाई क्रान्ति र सर्वोच्च नेताको सुरक्षाका लागि स्थापना गरिएको थियो, इरानको शक्तिशाली राजनीतिक शक्ति बन्यो।
खामेनीले आइआरजिसीलाई एक सैन्य बल मात्र होइन, इरानको स्वाधीनताको ढाल बनाए। सन् १९८१ मा हत्या प्रयासबाट बचेपछि उनी सन् १९८२ र १९८५ मा राष्ट्रपति निर्वाचित भए। इरान–इराक युद्ध जुन सन् १९८० देखि १९८८ सम्म चलेको थियो। अधिकांश समय उनी राष्ट्रपतिका रूपमा रहे। यो युद्धले इरानलाई ध्वस्त बनायो तर खामेनीको नेतृत्वमा इरानी जनताले अदम्य साहस देखाए। उनी अग्रपंक्तिमा भ्रमण गर्थे, सैनिकहरूलाई प्रेरित गर्थे। उनले इरानलाई विदेशी आक्रमणबाट जोगाए र पश्चिमी शक्तिहरूको समर्थनमा लडाइँ गरिरहेका सद्दाम हुसेनको सामना गरे। सद्दाम हुसेनले इरानी सेना र जनताविरुद्ध रासायनिक हतियार प्रयोग गरेका थिए, जसमा अमेरिका र पश्चिमी देशहरूले चुपचाप समर्थन गरेका थिए। यसले करिब १० लाख इरानीहरूको ज्यान लिएको थियो र खामेनीमा पश्चिमप्रति गहिरो अविश्वास पैदा गरेको थियो, विशेष गरी अमेरिकाप्रति, किनकि अमेरिकाले सद्दामलाई हतियार र आर्थिक सहयोग दिएको थियो। यो युद्धपछि सद्दाम हुसेनलाई सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणमा पक्राउ गरियो र सन् २००६ मा इराकी अदालतले मानवताविरोधी अपराधमा दोषी ठहर्याएर फाँसी दिइयो।
तर खामेनीले अमेरिकालाई विश्वास गरेनन् किनकि अमेरिकाले सन् १९५३ मा इरानको निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्देगलाई अपदस्थ गरेको कुमा भाग लिएको थियो। क्रान्तिपछि निरन्तर शत्रुता देखाइएको थियो। सन् २०१८ मा आणविक सम्झौता भंग गरेको थियो। सन् २०२० मा जनरल कासिम सुलेमानीको हत्या गरिएको थियो। यसले खामेनीमा अमेरिका इरानको स्वतन्त्रता र क्रान्तिविरुद्ध छ भन्ने विश्वास गहिरो बनाएको थियो। उनको विश्वास थियो कि इरान कमजोर छैन, यसलाई सुरक्षाको आवश्यकता छ। उनी त्यो सुरक्षा इस्लामिक क्रान्तिबाट आउँछ भन्थे।
खोमेनीको मृत्युपछि सन् १९८९ मा खामेनी सर्वोच्च नेता बने। यो नियुक्ति आश्चर्यजनक थियो किनकि उनमा ग्रान्ड अयातोल्लाहको पद थिएन तर विशेषज्ञहरूको सभाले उनलाई चुन्यो। यतिसम्म कि संविधान संशोधन गरेर उनको पद सुदृढ गरियो। यो उनको साहसको प्रमाण थियो। उनी खोमेनिज्मका दृढ समर्थक थिए र इरानलाई सर्वशक्तिमान ईश्वरबाट वैधता प्राप्त गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्थे। बेलायत–ए फकिहको अवधारणा, जसले सर्वोच्च नेतालाई पैगम्बरका अधिकार दिन्छ, उनको शासनको केन्द्रबिन्दु बन्यो। तीन दशकभन्दा बढी समय उनले घरेलु राजनीतिमा अभूतपूर्व शक्ति जम्मा गरेका थिए। आइआरजिसीलाई उनले शक्तिशाली बनाए, जसले इरानको क्षेत्रीय प्रभाव बढायो। प्रतिरोध अर्थतन्त्रको प्रवद्र्धन गर्दै उनले पश्चिमी प्रतिबन्धहरूको सामना गरे र आत्मनिर्भरतालाई जोड दिए। यो साहस नै थियो कि उनले अमेरिका र इजरायललाई चुनौती दिन्थे। यसरी उनको ३७ वर्षको शासनकालमा इरानलाई क्षेत्रीय शक्ति बनाउन उनले भूमिका खेलेका थिए।
खामेनीको देशप्रेम इरानको सीमाभन्दा बाहिरसम्म फैलियो। उनी पश्चिमी साम्राज्यवादको विरोधी थिए र क्षेत्रीय प्रोक्सी रणनीतिका शिल्पकार पनि उनैलाई मानिन्छ। हिजबुल्लाह, हमास, हुथीजस्ता समूहहरूलाई सहयोग गरेर उनले मध्यपूर्वमा इरानको सैन्य तागत देखाउँथे। उनले प्रतिरोधको अक्ष निर्माण गरे, जसले इरानलाई मध्यपूर्वमा प्रभावशाली देश बनायो।
आणविक कार्यक्रममा पनि उनको दृढता प्रशंसनीय छ। सन् २०१५ को इरान आणविक सम्झौतालाई उनले समर्थन गरे तर डोनल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमै यसलाई भंग गरेपछि उनले इरानको अधिकारलाई जोड दिए। उनले फतवा जारी गरेर आणविक हतियार गैरइस्लामिक भएको बताए तर शान्तिपूर्ण ऊर्जाका लागि लड्नुपर्छ भन्ने मान्यता उनको थियो। उनले इरानलाई प्रतिबन्धहरूबाट बचाउने प्रयास गरे र युवालाई आर्थिक सुधारका लागि प्रेरित गरे।
उनको शासनमा इरानले धेरै चुनौतीहरूको सामना गर्नुप¥यो। सन् २००९ को चुनावी विरोध, सन् २०२२ को महिला अधिकार प्रदर्शन र सन् २०२५–२०२६ को आर्थिक विद्रोह केही उदाहारण हुन्। यी घटनाहरूमा उनको सरकारले कठोर दमन गरेको आरोप लाग्ने गरेको छ। दाबीअनुसार यी घटनामा हजारौंको ज्यान लिइयो। कहिलेकाहीँ असहमतिलाई दबाउन उनले कडा कदम चाल्ने गरेका थिए। उनी इरानको स्थिरता र क्रान्तिको रक्षाका लागि कठोरता आवश्यक हुने तर्क गर्थे। उनी युवासँग कम सम्पर्कमा थिए तर उनको दृष्टिकोण सधैं राष्ट्रिय स्वतन्त्रताको जिद्दी थियो। इरानी जनताले यसका लागि उच्च मूल्य चुकाए तर उनको साहसले इरानलाई विश्वमा एक महत्त्वपूर्ण शक्ति बनायो।
उनको देहावसानपछि इरान शोकमा छ। उनको राजकीय अन्त्येष्टिमा लाखौं इरानी उपस्थित भएका छन्। विश्वमा धेरै देशमा अमेरिका र इजरायलविरुद्ध आन्दोलन चर्किएका छन्। इरानी जनताका नजरमा उनी एक बलिया नेता थिए। उनको विरासत इरानको लचिलोपन, दृढता र स्वतन्त्रताको प्रतीक थियो। तेहरानले विरोधीहरूका लागि सधैं दुःस्वप्न रहने चेतावनी दिएको छ।
इरानले अहिले खाडीका देशहरूमा रहेका अमेरिकी सैन्य अड्डालाई निसाना बनाइएको छ। साथै इजरायलमाथि पनि आक्रमण गरिरहेको छ। अमेरिका र इजरायलले पनि तेहरानमा निरन्तर आक्रमण गरिरहेका छन्। विश्व समुदायले खामेनीको मृत्युलाई लिएर मिश्रित प्रतिक्रिया दिएको छ। धेरैले यसको शान्तिपूर्ण समाधानका लागि अनुरोध गरिरहेका छन्।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: १८ फाल्गुन २०८२ ०७:१२ सोमबार





