फिलिपिन्समा गत सातादेखि लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ।
तीमध्ये १३ जनाको मृत्यु पुष्टि भएको छ भने अन्यको पहिचान प्रक्रिया जारी छ। यस्तै, सात जना अझै हराइरहेका छन्, जसमा केही आकस्मिक बाढीले बगाएको र केही पहिरोमा पुरिएको आशंका गरिएको छ। घटनाहरूमा परेर १० जना घाइते भएका छन्।
उक्त प्राकृतिक प्रकोपले करिब १४ लाख ६० हजार परिवार प्रभावित भएका छन्, जसमा करिब ५३ लाख मानिस समावेश छन्। नागरिक सुरक्षा कार्यालयका अनुसार देशभरका ८८ सहर तथा नगरपालिकाले विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले प्रकोपको अवस्था घोषणा गरेका छन्।
हाल टाइफुन विपा, फ्रान्सिस्को र को–मे नामक आँधीहरू देशको भूभागबाट बाहिरिसकेका छन्। तर, मौसम विज्ञान विभागले लुजोन टापुको केही भागमा अझै केही दिन भारी वर्षा जारी रहने पूर्वानुमान गरेको छ। फिलिपिन्समा प्रत्येक वर्ष झन्डै २० वटा आँधीबेहरी आउने गर्छन्, जसले व्यापक जनधनको क्षति पुर्याउने गरेको छ। सिन्ह्वा
प्रकाशित: १० श्रावण २०८२ १४:३८ शनिबार





