थाइल्याण्डकी रानी सुथिदाले लडाकु विमान एक्लै उडाएर इतिहास रचेकी छन्। उनी लडाकु विमान एकल उडान गर्ने संसारकै पहिलो बहालवाला महिला रानी बनेकी हुन्।
४८ वर्षीया सुथिदाले गत बिहीबार थाइल्याण्डको सुरत थानी प्रान्तस्थित फुन फिन जिल्लामा रहेको सैन्य विमानस्थलबाट साब जेएएस-३९सी ग्रिपेन लडाकु विमान उडाएकी थिइन्। उनले ४१ मिनेटसम्म एक्लै विमान उडाएकी थिइन्।
थाई राजपरिवारले सार्वजनिक गरेको भिडियोमा रानीले उडानअघि विमानको निरीक्षण गर्दै सलाम गरेको देखिन्छ। उनका ७४ वर्षीय पति राजा महा वजिरालोङकोर्न पनि उडान हेर्न विमानस्थल पुगेका थिए। उडानपछि राजाले उनलाई फूल दिनुका साथै ग्रिपेन विमान एक्लै उडाएको सम्मानस्वरूप विशेष ब्याज प्रदान गरेका थिए।
सुथिदाले सन् २०१० मा पाइलटका रूपमा उडान सुरु गरेकी थिइन्। उनले विभिन्न विमानमा कुल एक हजार १८८ घण्टाभन्दा बढी उडान गरिसकेकी छन्। यसमा बोइङ ७३७ यात्रुवाहक विमान उडाएको अनुभव पनि समावेश छ।
लडाकु विमान एक्लै उडाउनुअघि उनले सिम्युलेटरमा अभ्यास गर्नुका साथै दुई सिट भएको ग्रिपेन विमानमा विशेष तालिम लिएकी थिइन्। उनले दुई सिटे ग्रिपेन विमानमा १० घण्टाभन्दा बढी उडान गरेपछि एक सिटे विमान उडाएकी हुन्।
सन् २०१९ मा राजासँग विवाह गर्नुअघि उनी थाई एयरवेजमा एयर होस्टेस थिइन्। पछि उनले राजाको व्यक्तिगत सुरक्षा टोलीमा उपप्रमुखका रूपमा काम गरेकी थिइन्। उड्डयनमा उनको रुचि र अनुभवका कारण उनलाई ‘पाइलट क्विन’ भनेर चिनिन्छ।
प्रकाशित: २५ आश्विन २०८३ १४:१२ आइतबार


-600x400.jpg)


