यो हप्ता जापानका पाण्डा प्रेमीहरूका लागि भावुक रह्यो। टोकियोको उएनो चिडियाखानाका अन्तिम दुई विशाल पाण्डा शाओ शाओ र लेई लेई मंगलबार चीन फर्किएका छन्।
योसँगै जापान लगभग ५० वर्षपछि पहिलो पटक पाण्डाविहीन बनेको छ। जुम्ल्याहा पाण्डालाई ट्रकमा राखेर उएनोबाट नारिता विमानस्थल पुर्याइएको थियो, जहाँबाट उनीहरू चीनतर्फ उडान भरे।
आइतबार अन्तिम सार्वजनिक अवलोकनमा हजारौं मानिसहरू अन्तिम पटक हेर्न पुगेका थिए। चिडियाखानाले प्रत्येकलाई मात्र एक मिनेट समय दिएको थियो। तर मानिसहरू पाण्डा खेलौना बोकेर नाम बोलाउँदै फोटो र भिडियो खिच्न व्यस्त थिए। टिकट नभएकाहरू पनि बाहिरैबाट बिदाई गरिरहेका थिए।
बेइजिङले पाण्डा फिर्ता बोलाउनुको प्रमुख कारण जापान–चीन सम्बन्ध बिग्रिँदै जानु हो, विशेष गरी ताइवान विवाद। जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ कारबाही भए जापान हस्तक्षेप गर्न सक्छ भन्ने अभिव्यक्ति दिएपछि चीन रिसाएको छ। टोकियोले नयाँ पाण्डा मागे पनि चीनले उएनोमा पठाउने योजना नभएको बताएको छ।
बेइजिङ डेलीले एक विज्ञलाई उद्धृत गर्दै भनेको छ, ‘यदि तनाव जारी रह्यो भने भविष्यमा जापानमा पाण्डा देखिने छैनन्।’ जापानमा पाण्डा कूटनीति पहिले पनि राजनीतिसँग जोडिएको छ। सन् २०११ को भूकम्पपछि सेन्डाईमा पाण्डा ल्याउने योजना सन् २०१२ को क्षेत्रीय विवादले रद्द भएको थियो।
शाओ शाओ र लेई लेई सन् २०२१ मा उएनोमै जन्मेका हुन्। चीनले विदेशमा जन्मेका पाण्डाको स्वामित्व पनि राख्छ।
वेब इन्जिनियर ताकाहिरो ताकाउजी १५ वर्षदेखि दैनिक उएनो पुग्थे र करोडभन्दा बढी पाण्डा फोटो खिचेका छन्। अन्तिम दिन उनले एक मिनेटमा करिब ५ हजार तस्बिर खिचे। आफ्नो ब्लग ‘एभरि डे पाण्डा’ मा अपलोड गर्दै उनले भने, ‘मैले तिनीहरूलाई जन्मेदेखि देखेको छु। तिनीहरू मेरा छोराछोरी जस्तै हुन्। मैले कहिल्यै सोचेको थिइनँ कि पाण्डाहरू जापानबाट गायब हुनेछन्।’
लामो समयदेखि पाण्डा हेर्ने मिचिको सेकीले भनिन्, ‘पाण्डाले मानिसहरूलाई सान्त्वना दिन्छन्। जापानलाई पाण्डा चाहिन्छ। मलाई आशा छ नेताहरूले समाधान खोज्नेछन्।’
चीनले सन् १९७२ मा पहिलो पटक जापानमा पाण्डा पठाएको थियो, जसले दुई देशको कूटनीतिक सम्बन्ध सामान्यीकरणको प्रतीक बनेको थियो। पछि भाडा प्रणाली लागू भयो, जसअन्तर्गत विदेशी चिडियाखानाले संरक्षण शुल्क तिर्छन्। विशाल पाण्डा प्राकृतिक रूपमा चीनमै मात्र पाइन्छन्, मुख्यतः सिचुआन, शान्सी र गान्सु प्रान्तका बाँस जंगलमा। तिनीहरूले दिनमा १०–१४ केजी बाँस खान्छन्।
उएनो क्षेत्रमा पाण्डा-थीमका सामानको व्यापार धेरै छ। पाण्डा गएपछि वार्षिक कम्तीमा ८५ अर्ब येन नोक्सानी हुने अनुमान छ। सन् २००८ मा एक पाण्डाको मृत्युपछि चिडियाखानाको पर्यटक संख्या ३० लाखभन्दा कम भएको थियो। एजेन्सीको सहयोगमा
प्रकाशित: १३ माघ २०८२ १०:३२ मंगलबार





