अमेरिका र इरानबिचको सैन्य टकरावका कारण पश्चिम एसियामा तनाव चरम बिन्दुमा पुगेको छ।
अमेरिकी आक्रमणको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौं फ्लीटमा ड्रोन र जोर्डनमा रहेको एयरबेसमा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले जोर्डनको बेसमा रहेका अमेरिकी लडाकु जेटका ह्याङ्गरहरू र मुख्य कमाण्ड सेन्टरसहित चारवटा महत्त्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको दाबी गरेको छ।
यसअघि, होर्मुजको जलमार्ग नजिकै इरानी सेनाले अमेरिकी अपाचे हेलिकप्टर खसालेको प्रतिक्रियामा अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानका हवाई रक्षा, जमिन नियन्त्रण स्टेशन र रडार साइटहरूमा 'आत्मरक्षा आक्रमण' पूरा गरेको बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पाइलट सुरक्षित रहेको जानकारी दिँदै 'संयुक्त राज्य अमेरिकाले यो आक्रमणको जवाफ दिनुपर्छ' भन्दै दुई हप्ताभित्र इरानमाथि 'पूर्ण विजय' घोषणा गर्ने दाबी गरे।
यसैबिच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी सेनाले कुनै पनि आक्रमणको जवाफ दिन दिने स्पष्ट पार्दै अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, 'यदि तपाईं सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्र छोड्नुहोस्।'
अर्कोतर्फ, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान अब युद्ध जारी राख्न नचाहेको र वार्ताबाट समाधान खोज्दै नयाँ प्रस्तावहरू गरिरहेको बताए। उनले यो सम्झौता इजरायललाई मन परोस् या नपरोस्, अमेरिकी जनताका लागि ठूलो विजय हुने उल्लेख गरेका छन्। तर, इजरायली सेना प्रमुख इयाल जामिरले आवश्यक परे इजरायल इरानमाथि थप ठूला आक्रमण गर्न तयार रहेको चेतावनी दिएका छन्।
यस सैन्य तनाव र होर्मुज जलमार्गको जोखिमका कारण विश्वव्यापी तेल बजार प्रभावित भएको छ। कच्चा तेलको मूल्य सात हप्ताकै न्यून बिन्दुबाट लगभग एक प्रतिशतले बढेको छ।
बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ९२.२९ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी क्रुडको मूल्य ८८.९७ डलर पुगेको छ। बढ्दो द्वन्द्वका बिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय शत्रुता तुरुन्तै रोक्न र युद्धविराम कायम राख्न आह्वान गरेका छन्। एजेन्सी
प्रकाशित: २७ जेष्ठ २०८३ ०८:४५ बुधबार





