पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ आगामी शनिबारदेखि मङ्गलबारसम्म चीनको राजधानी बेइजिङको औपचारिक भ्रमणमा जाने भएका छन्। यो भ्रमणलाई क्षेत्रीय कूटनीति र मध्यपूर्वको जारी तनावबीच रणनीतिक छलफलका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
चीन र पाकिस्तान दुवै देशले हाल मध्यपूर्वमा जारी द्वन्द्वलाई मध्यस्थतामार्फत समाधान गर्ने प्रयासमा सक्रिय भूमिका खेल्दै आएका छन् । अमेरिका र इजरायली आक्रमणबाट उत्पन्न तनावपछि सुरु भएको युद्धविराम सम्झौताले केही समयका लागि शत्रुता रोकिएको भए पनि परिस्थिति अझै स्थिर हुन सकेको छैन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै कूटनीतिक अवसरको समयसीमा सीमित हुँदै गएको चेतावनी दिएका छन्।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री सरिफको भ्रमणका क्रममा चीन र पाकिस्तानका शीर्ष नेतृत्वबीच द्विपक्षीय सम्बन्ध तथा साझा सरोकारका विषयमा गहिरो विचार–विमर्श हुने बताए। उनका अनुसार दुवै पक्षले क्षेत्रीय स्थिरता र शान्तिसम्बन्धी मुद्दामा विशेष ध्यान दिनेछन्।
प्रवक्ता गुओले चीनले मध्यपूर्वमा शान्ति र स्थायित्व पुनःस्थापना गर्न सकारात्मक योगदान दिन पाकिस्तानसँग सहकार्य जारी राख्ने स्पष्ट पारे। उनका अनुसार चीनले युद्ध अन्त्य र शान्ति प्रवद्र्धनका लागि निष्पक्ष तथा सन्तुलित मध्यस्थताको भूमिकामा पाकिस्तानलाई समर्थन गरिरहेको छ।
प्रकाशित: ७ जेष्ठ २०८३ २०:२७ बिहीबार





