‘स्लिपिङ प्रिन्स’ को नामले विश्वभर चिनिएका साउदी राजकुमार अलवलीद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ। करिब २० वर्षदेखि कोमामा रहेका उनको ३६ वर्षको उमेरमा शनिबार निधन भएको हो।
राजकुमारका पिता राजकुमार खालिद बिन तलाल बिन अब्दुलअजिजले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) मार्फत छोराको निधनको पुष्टि गरेका छन्।
सन् २००५ मा लन्डनको एक सैन्य एकेडेमीमा अध्ययनरत रहँदा भएको कार दुर्घटनापछि राजकुमार अलवलीद कोमामा गएका थिए। दुर्घटनाका कारण भएको मस्तिष्क रक्तस्रावले उनलाई जीवनभर अचेत बनायो।
दुर्घटनापछि उनलाई रियादस्थित किंग अब्दुलअजिज मेडिकल सिटीमा भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो। उनको परिवारले विश्वभरका विशेषज्ञ चिकित्सकहरूलाई बोलाएर उनको अवस्था जाँच्न र होसमा ल्याउन प्रयास गरे पनि सफल हुन सकेन।
यद्यपि, कहिलेकाहीँ उनको शरीरमा देखिने सामान्य हलचलले परिवारलाई आशा दिने गरे पनि उनको अवस्था २० वर्षसम्म उस्तै रह्यो।
राजकुमार अलवलीदका पिता, राजकुमार खालिद बिन तलालले छोराको स्वास्थ्यमा सुधार आउने आशामा कहिल्यै ‘लाइफ सपोर्ट’ हटाउन मानेनन्। उनले रमजान र ईदजस्ता पवित्र अवसरहरूमा सामाजिक सञ्जालमार्फत छोराको लागि निरन्तर प्रार्थना गर्दै भावुक सन्देशहरू साझा गरिरहन्थे।
खलिज टाइम्सका अनुसार, उनको अन्तिम संस्कार आइतबार गरिनेछ।
प्रकाशित: ४ श्रावण २०८२ १७:०६ आइतबार





