२३ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सथानकुलम हिरासत मृत्यु: ‘दुर्लभमध्ये दुर्लभ’ भन्दै नौ प्रहरीलाई मृत्युदण्ड

तस्बिर: भारतीय सञ्‍चारमाध्यम

तमिलनाडुको सथानकुलम हिरासत मृत्यु प्रकरणमा भारतको मदुरै अदालतले ऐतिहासिक फैसला सुनाउँदै नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतले यस घटनालाई “दुर्लभमध्ये दुर्लभ” प्रकृतिको अपराधका रूपमा व्याख्या गरेको छ।

दोषी ठहर गरिएका प्रहरीहरूमा निरीक्षक एस श्रीधर, उप–निरीक्षकहरू पी रघु गणेश र के बालकृष्णन, हवल्दारहरू एस मुरुगन र ए सामीदुरई तथा सिपाहीहरू एम मुथुराजा, एस वेल मुथु, एस चेल्लादुरई र एक्स थोमस फ्रान्सिस रहेका छन्।

सुनुवाइका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अदालतसँग अधिकतम सजायको माग गरेको थियो। सरकारी वकिलहरूले यो घटनाले समाजलाई स्तब्ध बनाएको र यसले कानुनी शासनमाथि नै प्रश्न उठाएको भन्दै मृत्युदण्ड वा कम्तीमा आजीवन कारावास हुनुपर्ने तर्क गरेका थिए।

सन् २०२० मा निषेधाज्ञा उल्लंघनको आरोपमा पक्राउ परेका पी जयराज र उनका छोरा बेनिक्सलाई प्रहरी हिरासतमा अमानवीय यातना दिइएको थियो। त्यसपछि स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा केही दिनमै दुवैको मृत्यु भएको थियो, जसले देशभर आक्रोश फैलाएको थियो।  

पोस्टमार्टम प्रतिवेदन, साक्षी बयान र अनुसन्धानले हिरासतमा कुटपिट तथा दुर्व्यवहार भएको स्पष्ट पारेपछि अदालतले कडा निर्णय सुनाएको हो।  

यो फैसला मानवअधिकार संरक्षण र प्रहरी जवाफदेहिताका दृष्टिले महत्वपूर्ण मानिएको छ। साथै, भविष्यमा यस्ता घटनामा कडा सन्देश दिने अपेक्षा गरिएको छ।

प्रकाशित: २३ चैत्र २०८२ २१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App