९ श्रावण २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। 

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको छ। 

क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुस्लान ओलिइनिकका अनुसार आपत्कालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन्। 

यो आक्रमण अमेरिकी रक्षा कम्पनी ‘रेथियन’का वरिष्ठ प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो। उक्त कम्पनीले युक्रेनलाई आवश्यक ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उत्पादन गर्छ। आक्रमणपछि जेलेन्स्कीले ‘प्याट्रियट’ प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। 

युक्रेनी रक्षा उद्योग परिषद्ले आक्रमणका बेला रक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरू कार्यक्रमस्थलमा रहेको जनाएको छ।युक्रेनका महान्यायाधिवक्ता रुस्लान क्राभचेन्कोले घटनाको युद्ध अपराधका रूपमा अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको उनले बताएका छन्। यस घटनासम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको जनाएको छ।

रेथियनसँग सहकार्यमा जोड

जेलेन्स्कीले बिहीबार राति रेथियनको प्रतिनिधिमण्डलसँग भेट गर्दै ‘प्याट्रियट’ इन्टरसेप्टर क्षेप्यास्त्रको संयुक्त उत्पादनबारे छलफल गरेका थिए। उनका अनुसार युक्रेन र रेथियनबीच यस विषयमा सहकार्य अघि बढाउने सहमति भएको छ। 

युक्रेनले विगत केही वर्षदेखि पश्चिमी साझेदारहरूसँग थप ‘प्याट्रियट’ प्रणाली उपलब्ध गराउन आग्रह गर्दै आएको छ। यद्यपि, युक्रेनमै यसको उत्पादन सुरु हुन अझै केही वर्ष लाग्न सक्ने विज्ञहरूको भनाइ छ।

रुसभित्र युक्रेनी ड्रोन आक्रमण 

यसैबीच, युक्रेनले रुसभित्र लामो दूरीका ड्रोन आक्रमणलाई निरन्तरता दिएको छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी सेनाले किरोभ क्षेत्रमा रहेको एक सैन्य उद्योग तथा सीमाबाट करिब एक हजार ३५० किलोमिटर टाढा रहेको तेल पूर्वाधारमा प्रहार गरेको छ। किरोभ क्षेत्रका गभर्नर अलेक्जेन्डर सोकोलोभका अनुसार सैन्य कारखानामा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। 

युक्रेनी सेनाले रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी ‘वाइल्डबेरीज’का सेन्ट पिटर्सबर्ग, लेनिनग्राद क्षेत्र र कब्जामा रहेको क्रिमियाको सिम्फेरोपोलस्थित रसद केन्द्रहरूमा ड्रोन आक्रमण गरेको कम्पनीकी संस्थापक तात्याना किमले बताएकी छन्। रुसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति रुसका विभिन्न क्षेत्रमा प्रहार गरिएका ५७१ वटा युक्रेनी ड्रोन खसालिएका छन्।  

प्रकाशित: ९ श्रावण २०८३ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App