अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमण सकिएको केही दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ चीन पुग्दै छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बुधबार हुने उच्चस्तरीय वार्ताअघि पुटिनले मस्को र बेइजिङबीचको गहिरो सम्बन्धलाई विश्व मञ्चमा एक स्थिर शक्तिको रूपमा व्याख्या गरेका छन्।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनले मस्को र बेइजिङको सहकार्य कुनै तेस्रो देश विरुद्ध लक्षित नभएको बताएका छन् । साथै मस्को र बेइजिङले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूको समग्र रक्षाका लागि प्रयास गर्ने बताएका छन्।
पुटिनका अनुसार रुस र चीनले संयुक्त राष्ट्र संघ, साङ्घाई सहयोग सङ्गठन, ब्रिक्स र अन्य बहुपक्षीय प्लेटफर्मको ढाँचाभित्र रहेर सहकार्यलाई सुदृढ बनाउने बताएका छन्।
उनले सार्वभौमसत्ता र राष्ट्रिय एकताको संरक्षण जस्ता आधारभूत मामिलामा दुवै पक्षले एकअर्कालाई दृढ समर्थन गरिरहेको बताउँदै राजनीति, अर्थतन्त्र, रक्षा र सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्दै दुवै राष्ट्रको कल्याणका अगाडी बढ््ने प्रतिवद्धता व्यक्ति गरेका छन्।
विश्व मामिलामा संयुक्त राज्य अमेरिकाको दबाब र प्रभावलाई चुनौती दिन रुस र चीन पछिल्लो समय थप एकताबद्ध बन्दै गएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा दुई दिने शिखर सम्मेलन सम्पन्न भएको चार दिनपछि पुटिनको यो भ्रमण हुनुलाई विश्व कूटनीतिमा निकै चासोका साथ हेरिएको छ।
प्रकाशित: ५ जेष्ठ २०८३ ११:२२ मंगलबार





