२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गान्धीको दुर्लभ तेलचित्र २ लाख डलरमा बिक्री

भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीको एक दुर्लभ तेलचित्र २ लाख अमेरिकी डलर (२ करोड ७६ लाख रुपैयाँ) मा बिक्री भएको छ।

लन्डनको बोनह्याम्स लिलामी संस्था (अक्सन हाउस) यो चित्रलाई जुलाई ७ देखि १५ सम्म अनलाइन लिलामीमा राखिएको थियो ।

यो लिलामी मूल्य बोनह्याम्सले अपेक्षा गरेको  ६७,००० देखि ९४,००० अमेरिकी डलर भन्दा धेरै बढी हो ।

यो चित्र सन् १९३१ मा बेलायती कलाकार क्लेयर लिटनले गान्धी लन्डन आएको बेलामा बनाएकी थिइन्।

बोनह्याम्सका अनुसार, विशेष रुपमा बस्न लगाएर बनाइएको गान्धीको यो सम्भवतः एक मात्र तेलचित्र हो।

महात्मा गान्धीले भारतमा ब्रिटिश शासनविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए । उनको ज्ञान र शिक्षाले अहिले पनि करोडौँ मानिसले प्रेरणा लिँदै आएका छन्। अधिकांश भारतीयले उनलाई ‘राष्ट्रपिता’ को रूपमा मान्छन्।

यो चित्र १९३१ मा गान्धी दोस्रो गोलमेच सम्मेलनमा सहभागी हुन लन्डन जाँदा बनाइएको थियो । उक्त सम्मेलनमा भारतमा संवैधानिक सुधार र स्वशासनको मागबारे छलफल भएको थियो।

बोनह्याम्सका अनुसार, कलाकार क्लेयर लिटन ‘गान्धीको कार्यालयमा जान अनुमति पाउने थोरै कलाकारहरूमध्ये एक थिइन् र उनलाई पटक–पटक गान्धीसँग बसेर चित्र बनाउन अवसर दिइएको थियो।’

गान्धीको यो दुर्लभ  चित्र कलाकारको मृत्यु नभएसम्म अर्थात सन् १९८९सम्म उनकै संग्रहलायमा राखिएको थियो ।  त्यसपछि उनको परिवारसँग रहँदै आएको थियो । बोनह्याम्सले यो चित्र कसले किन्यो भन्ने खुलाएको छैन र यो सार्वजनिक प्रदर्शनीमा राखिने हो या होइन भन्ने पनि प्रष्ट्याइएको छैन । 

प्रकाशित: ३२ असार २०८२ १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App