रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
किर्गिस्तानको राजधानी बिश्केकमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएका भेटमा युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको छ।
चिनियाँ राष्ट्रपति सीसँगको भेटमा पुटिनले रूस-चीन सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल गरेका छन्। चीनले उपयुक्त ठानेमा रूस र चीनबिचको भिसामुक्त यात्रालाई स्थायी बनाउन मिलेर काम गर्न तयार रहेको पुटिनले बताए। उनका अनुसार २०२६ को पहिलो ६ महिनामा भिसामुक्त व्यवस्थाका कारण दुई देशबिच पर्यटक आवागमन ४३ प्रतिशतले बढेको छ।
पुटिनले रूस र चीनबिच ऊर्जा, उद्योग, अन्तरिक्ष, यातायात, कृषि र डिजिटल प्रविधिलगायत क्षेत्रमा सहकार्य बढिरहेको बताए। कृषि उत्पादनको पारस्परिक आपूर्ति ३४ प्रतिशतले बढेको पनि उनले जानकारी दिए।
जवाफमा सीले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका बिच शान्ति, विकास र सहकार्यका लागि विश्वभरका जनताको चाहना कायमै रहेको बताएका छन्। पुटिनसँगको रणनीतिक मार्गदर्शन र दुवै पक्षको संयुक्त प्रयासबाट चीन-रूस सम्बन्ध अझ बलियो र स्थिर बन्ने उनको विश्वास रहेको छ।
सी र पुटिनले एससीओभित्र सहकार्य बलियो बनाउने तथा संयुक्त राष्ट्र संघ, ब्रिक्स र जी२० जस्ता बहुपक्षीय मञ्चमा समन्वय बढाउने विषयमा पनि जोड दिएका थिए। क्षेत्रीय स्थिरता, विश्व शान्ति र आर्थिक सहकार्यका क्षेत्रमा मिलेर अघि बढ्ने प्रतिबद्धता दुवै नेताले जनाएका छन्।
यसैगरी, भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा युक्रेन युद्ध अन्त्यका लागि संवाद र कूटनीतिमा जोड दिइएको छ। मोदीले भारतले युक्रेनमा शान्तिका लागि भइरहेका सबै प्रयासलाई समर्थन गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।
‘युद्धमा बिताएको हरेक दिनले मानवतालाई पछाडि धकेल्छ, जबकि शान्तितर्फ चालिएको हरेक कदमले नयाँ आशा ल्याउँछ। हामीले अनन्त युद्धबाट युद्धको अन्त्यतिर अघि बढ्नुपर्छ,’ मोदीले भने। उनले द्वन्द्वको शान्तिपूर्ण समाधान मानवताको साझा प्राथमिकता भएको बताए।
जवाफमा पुटिनले पनि रूस युक्रेन द्वन्द्व अन्त्य गर्ने दिशामा अघि बढिरहेको दाबी गरेका छन्। मोदी र पुटिनबिच व्यापार, लगानी, ऊर्जा, मल सुरक्षा, रक्षा, अन्तरिक्षलगायत क्षेत्रमा भइरहेको सहकार्यबारे पनि छलफल भएको छ।
पुटिनका अनुसार रूस र भारतबिचको व्यापार २०२६ को पहिलो ६ महिनामा २.६ प्रतिशतले बढेको छ। रूसमा अध्ययन गर्ने भारतीय विद्यार्थीको संख्या पछिल्लो १० वर्षमा सात गुणाले बढेर करिब ४० हजार पुगेको पनि उनले बताए।
मोदीले सेप्टेम्बर १२ र १३ मा भारतमा हुने १८औं ब्रिक्स शिखर सम्मेलनमा पुटिनलाई स्वागत गर्न आफू उत्सुक रहेको बताएका छन्। दुवै नेताले रूस-भारत सम्बन्धलाई अझ बलियो बनाउँदै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १६ भाद्र २०८३ ०७:३४ मंगलबार





