१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति ओर्टेगाको टिप्पणीः ट्रम्प ‘मानसिक रूपमा अस्थिर’ छन्

मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उनलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गरेका छन्।  

इरानविरुद्धको सैन्य आक्रमणलाई लक्षित गर्दै गरिएको यस्तो अभिव्यक्तिले वासिङ्टन-मानागुआ सम्बन्धमा थप तिक्तता ल्याउने सङ्केत दिएको छ।

राज्यद्वारा सञ्चालित सञ्चारमाध्यममार्फत प्रसारित मानागुआस्थित एक कार्यक्रममा बोल्दै ओर्टेगाले वर्तमान अमेरिकी नेतृत्वको युद्ध सञ्चालन शैलीलाई असामान्य र खतरनाक भएको बताए।  

उनका अनुसार यस्तो आक्रामक नीति ‘आफ्नो नियन्त्रण गुमाइसकेको व्यक्तिको व्यवहार’ जस्तो देखिन्छ, जसले आफूले चाहेको कुनै पनि क्रूर कदम चाल्न सक्छ भन्ने मानसिकता झल्काउँछ । उनले यसलाई ‘मानसिक अस्थिरताको समस्या’ भन्दै थप कडा टिप्पणी गरेका थिए।

फेब्रुअरी २८ मा इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा सुरु गरेको आक्रमणपछि ओर्टेगाले लगातार ट्रम्पको आलोचना गर्दै आएका छन्। उनको भनाइमा उक्त युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी अस्थिरता बढाएको छ।

ओर्टेगाले ट्रम्पको सामाजिक सञ्जाल गतिविधिलाई समेत विवादास्पद भन्दै आलोचना गरे। विशेषगरी ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा एआईबाट बनाइएको एउटा तस्बिर पोस्ट गरेको प्रसङ्ग उठाउँदै उनले त्यसलाई अस्वीकार्य व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गरे। उक्त तस्बिरमा ट्रम्पलाई येशू ख्रीष्टको रूपमा चित्रण गरिएको देखाइएको थियो, जहाँ उनी बिरामी व्यक्तिलाई निको पार्दै गरेको दृश्य देखिन्छ।

यसप्रति प्रतिक्रिया जनाउँदै ओर्टेगाले ट्रम्पले कति जनालाई निको पारेका छन् भन्ने प्रश्न गर्दै उल्टै युद्धमार्फत कति जनाको ज्यान गएको छ भन्ने विषयमा विश्व समुदायले जवाफ खोज्ने बताए।

यसैबीच, ओर्टेगाले आफ्ना परिवारमाथि लक्षित अमेरिकी प्रतिबन्धको पनि आलोचना गरेका छन्। सन् २००७ देखि सत्तामा रहँदै आएका उनीहाँमाथि यसअघि पनि संवैधानिक संशोधन र असन्तुष्टिलाई दमन गरेर शक्ति केन्द्रित गरेको आरोप लाग्दै आएको छ, जसलाई संयुक्त राज्य अमेरिकाले बारम्बार उठाउँदै आएको छ। पछिल्लो समयमा उनका दुई सन्तान सुन उद्योगसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको छ।

यस कदमप्रति आक्रोश व्यक्त गर्दै ओर्टेगाले आफूलाई लक्षित गर्न नसकेपछि आफ्ना परिवारमाथि दबाब सिर्जना गरिएको टिप्पणी गरे। उनका अनुसार यस्तो प्रतिबन्ध राजनीतिक उद्देश्यले प्रेरित रहेको छ। एएफपी

प्रकाशित: ८ वैशाख २०८३ १७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App