२५ श्रावण २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

तस्बिर: एएफपी

पश्चिमी कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं भवनहरू भत्किँदा कैयौं मानिसहरू भग्नावशेषमा थिचिएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार पेरेइरा शहरमा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको छ। पेरेइराका मेयर मौरिसियो सालाजारले स्थिति निकै गम्भीर रहेको बताएका छन्।

यस्तै, कोलम्बियाको तेस्रो ठूलो शहर कालीका मेयर अलेजान्ड्रो एडरका अनुसार कम्तीमा २० वटा भवनहरू पूर्ण रूपमा भत्किएका छन् र भग्नावशेषभित्र मानिसहरू थिचिएका छन्। उनले उद्धारका लागि अन्य शहरहरूसँग प्राविधिक र उद्धार टोलीको सहयोग मागेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ देखि १०० किलोमिटर गहिराइमा रहेको थियो।

चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबा-कुरीले प्रान्तीय राजधानी क्विब्डोमा ठूलो क्षति भएको र चारतले भवन भत्किँदा कम्तीमा चार जना थिचिएको जानकारी दिइन्।

राजधानी बोगोटामा भूकम्पको कडा धक्का महसुस गरिएपछि सर्वसाधारणहरू घर छाडेर सडकमा भागेका थिए। बोगोटाका मेयर कार्लोस गालानले शहरमा घरहरू चर्किएको बाहेक ठूलो क्षति नभएको बताएका छन्।

राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा जाने घोषणा गरेका छन्। सुरक्षाका कारण कोलम्बियाका छ वटा विमानस्थलको उडान सेवा तत्कालका लागि ठप्प पारिएको छ।

भूकम्पको धक्का छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो।

मनिजालेस शहरमा रहेको ऐतिहासिक क्याथेड्रल मन्दिरको घडीघर ढल्किएर क्षतिग्रस्त भएको छ। भूकम्पपछि सुनामीको भने जोखिम नरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: २५ श्रावण २०८३ २१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App