भारत, गुजरात राज्य सरकारले शुक्रवार २६ मन्त्रीको नयाँ मन्त्रिपरिषद् घोषणा गरेको छ। मुख्यमन्त्री भूपेन्द्र पटेलबाहेक सबै १६ मन्त्रीले राजीनामा दिएपछि यो कदम चालिएको हो। पटेल सरकारको नयाँ मन्त्रिपरिषद् सदस्यले शपथ ग्रहण लिइरहेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार भाजपाका एक नेताले भने, ‘स्थानीय चुनाव र २०२७ को विधानसभा चुनावलाई ध्यानमा राखी रणनीतिक पुनर्संरचना गर्न मन्त्रीहरूलाई राजीनामा दिन भनिएको थियो।’
मुख्यमन्त्रीले बिहीबार मन्त्रीहरूसँग बैठक गरी कार्यालय खाली गर्न निर्देशन दिएका थिए। अघिल्लो मन्त्रिपरिषद्मा आठ क्याबिनेट मन्त्री, दुई स्वतन्त्र प्रभारका राज्यमन्त्री र छ राज्यमन्त्री थिए।
पटेलले बिहीबार साँझ राज्यपाल आचार्य देवव्रतलाई नयाँ मन्त्रीहरूको सूची बुझाएका थिए। नयाँ मन्त्रिपरिषद्ले शुक्रवार दिउँसो शपथ लिने अपेक्षा छ।
भूपेन्द्र पटेल २०२१ मा मुख्यमन्त्री बनेका थिए। २०२२ को विधानसभा चुनावमा भाजपालाई बहुमत दिलाएपछि यो पहिलो ठूलो मन्त्रिपरिषद् पुनर्गठन हो। केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा शपथ समारोहमा उपस्थित हुनेछन्। सबै भाजपा विधायकलाई गान्धीनगरमा रहन भनिएको छ।
प्रकाशित: ३१ आश्विन २०८२ १२:५२ शुक्रबार





