३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा पेट्रोलको मूल्य प्रतिलिटर ३८० रुपैयाँ पुग्यो

पाकिस्तान सरकारले पेट्रोल र हाई-स्पीड डिजेल (एचएसडी) को मूल्य बढाएको छ।

शहबाज शरीफ सरकारले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ पाकिस्तानी रुपैयाँ र एचएसडीको मूल्य ६.१० पाकिस्तानी रुपैयाँले बढाएको हो। मूल्य बढेपछि पेट्रोल प्रतिलिटर ३८०.२४ पाकिस्तानी रुपैयाँ र एचएसडी ४०९.४२ पाकिस्तानी रुपैयाँमा बिक्री हुँदैछ। 

नयाँ मूल्य मंगलबार (आज) देखि लागू भएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ११४ पाकिस्तानी रुपैयाँ र डिजेलमा १०० पाकिस्तानी रुपैयाँ कर तथा शुल्क लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेका कारण पाकिस्तानमा पनि इन्धनको मूल्य बढाइएको हो।

बढ्दो विश्वव्यापी तेलको मूल्यबाट पर्ने असर कम गर्न प्रधानमन्त्री शरीफले आइतबार मोटरसाइकल, अटो र ८०० सीसीसम्मका सवारी साधनका लागि राहत योजना घोषणा गरेका थिए। दुई र तीन पांग्रे सवारी साधनका मालिकले मासिक २० लिटरसम्म र ८०० सीसीसम्मका सवारी साधनका मालिकले ३० लिटरसम्म पेट्रोलमा प्रतिलिटर १०० पाकिस्तानी रुपैयाँ राहत पाउनेछन्।

यसअघि जुलाई १७ मा पेट्रोलियम मन्त्री अली परवेज मलिकले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावका कारण इन्धनको मूल्य दैनिक तय गरिने बताएका थिए। त्यसअनुसार अन्तर्राष्ट्रिय बजारको अवस्थाका आधारमा दैनिक मूल्य निर्धारण गर्ने जिम्मेवारी तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा) लाई दिइएको छ।

पेट्रोल निजी सवारी, रिक्सा र दुई पांग्रे सवारीमा बढी प्रयोग हुन्छ भने डिजेल भारी यातायात, पावर प्लान्ट र ठूला जेनेरेटरमा प्रयोग गरिन्छ।

प्रकाशित: ३० भाद्र २०८३ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App