पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले हमास र इजरायल बिचको युद्धविराम र बन्धक सम्झौतामा मध्यस्थता गरेकोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने योजना घोषणा गरेका छन्।
इजिप्टको शर्म अल–शेखमा गाजा शान्ति सम्झौताका कागजातमा हस्ताक्षर गर्न विश्व नेताहरूको भेलामा उनले यस्तो बताएका हुन्।
यो दोस्रो पटक हो जब पाकिस्तानले ट्रम्पलाई यो पुरस्कारका लागि मनोनीत गरेको छ। यसअघि जुनमा भारत र पाकिस्तान बिचको युद्धविरामका लागि उनलाई मनोनयन गरिएको थियो।
‘पाकिस्तानले ट्रम्पलाई पहिले भारत–पाकिस्तान बिचको युद्ध रोक्न र त्यसपछि युद्धविराम गराउन उनको योगदानका लागि नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको थियो।’ शरीफले इजिप्टको शर्म अल–शेखमा भने।
‘आज फेरि म ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न चाहन्छु,’ शरीफले भने, ‘किनभने उनले दक्षिण एसियामा शान्ति ल्याएर र गाजामा शान्ति कायम गरेर लाखौँको जीवन बचाएका छन्।’
‘आज समकालीन इतिहासको महान् दिन हो, किनभने ट्रम्पको नेतृत्वमा शान्ति सम्भव भएको छ,’ शरीफले थप भने। सो घोषणापछि शरीफले ट्रम्पलाई ‘स्ल्युट‘ गरेर सम्मान व्यक्त गरेका थिए। ‘तपाईंको नेतृत्वले संसारलाई शान्ति र समृद्धिको बाटो देखाएको छ,’ उनले भने।
ट्रम्पले नर्वेको नोबेल समितिलाई गत हप्ता पुरस्कार नदिएकोमा आलोचना गरेका थिए। ‘नर्वे, के भयो?’ उनले भने। गत हप्ता समितिले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई पुरस्कार दिएको थियो।
यसअघि इजरायली नेताहरूले समेत २०२६ का लागि ट्रम्पलाई मनोनयन गर्ने बताएका थिए। अमेरिकी प्रतिनिधि अन्ना पाउलिना लुनाले गत बुधबार गाजा युद्धविरामका लागि उनलाई मनोनयन गरेकी थिइन्। एजेन्सी
प्रकाशित: २८ आश्विन २०८२ ०९:१८ मंगलबार





