पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ प्रतिवेदनअनुसार पाकिस्तान चीनबाट हतियार आयात गर्ने सबैभन्दा ठूलो देश बनेको छ। सन् २०२१–२५ को अवधिमा चीनले निर्यात गरेको प्रमुख हतियारको करिब ६१ प्रतिशत हिस्सा पाकिस्तानमै पुगेको प्रतिवेदनले देखाएको छ।
प्रतिवेदन अनुसार पाकिस्तानको कुल हतियार आयातमध्ये करिब ८० प्रतिशत चीनबाट आएको छ। सन् २०१६–२० को अवधिमा चीनबाट आउने हिस्सा ७३ प्रतिशत रहेको थियो। यो पछिल्लो अवधिमा अझ बढेको देखिन्छ। चीनले यस अवधिमा ४७ देशलाई प्रमुख हतियार आपूर्ति गरे पनि यसको सबैभन्दा ठूलो हिस्सा पाकिस्तानतर्फ गएको तथ्य प्रतिवेदनले औँल्याएको छ।
सिप्रीका अनुसार सन् २०१६–२० मा विश्वका प्रमुख हतियार आयातकर्तामध्ये दशौँ स्थानमा रहेको पाकिस्तान सन् २०२१–२५ मा पाँचौँ स्थानमा उक्लिएको छ। यी दुई अवधिबीच पाकिस्तानको हतियार आयात ६६ प्रतिशतले बढेको छ। यो विश्वव्यापी कुल हतियार आयातको करिब ४.२ प्रतिशत हिस्सा हो।
प्रतिवेदनले दक्षिण एसियामा भारतको अवस्थाबारे पनि उल्लेख गरेको छ। सन् २०२१–२५ मा कुल विश्वव्यापी हतियार आयातको ८.२ प्रतिशत हिस्सा ओगट्दै भारत विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता बनेको सिप्रीले जनाएको छ। प्रतिवेदन अनुसार भारतको हतियार आयात मुख्यतः चीन र पाकिस्तानसँगको तनावपूर्ण सम्बन्धका कारण प्रेरित भएको देखिन्छ। यी दुई देशबीचको तनावले समय–समयमा सैन्य झडपको रूप लिने गरेको उल्लेख गर्दै प्रतिवेदनले मे २०२५ मा भारत र पाकिस्तानबीच छोटो समयका लागि भएको द्वन्द्वमा दुवै पक्षले आयातित हतियार प्रयोग गरेको जनाएको छ।
यद्यपि पछिल्लो दशकमा भारतको कुल हतियार आयातमा केही गिरावट आएको प्रतिवेदनले देखाएको छ। सन् २०१६–२० र २०२१–२५ को अवधिबीच भारतको हतियार आयात करिब ४ प्रतिशतले घटेको उल्लेख गर्दै यसलाई घरेलु रूपमा हतियार डिजाइन तथा उत्पादन गर्ने क्षमताको विस्तारसँग जोडिएको बताइएको छ। यद्यपि स्वदेशी उत्पादनमा अझै ढिलाइ हुने प्रवृत्ति रहेको प्रतिवेदनले औँल्याएको छ।
यसका बावजूद भारत अझै धेरै प्रमुख सैन्य प्रणालीका लागि विदेशी आपूर्तिकर्तामाथि निर्भर रहेको सिप्रीले जनाएको छ। प्रतिवेदन अनुसार फ्रान्सबाट १४० लडाकू विमान र जर्मनीबाट छवटा पनडुब्बी खरिद गर्ने भारतको योजना तथा अर्डरहरूले विदेशी स्रोतमा निर्भरता अझै कायम रहने सङ्केत गर्छन्।
पछिल्ला वर्षहरूमा भारतले हतियार खरिदको स्रोत पनि विस्तार गरेको देखिन्छ। परम्परागत रूपमा रुसबाट ठूलो मात्रामा हतियार खरिद गर्दै आएको भारतले अहिले पश्चिमी देशहरूतर्फ झुकाव बढाएको प्रतिवेदनले जनाएको छ। विशेषगरी फ्रान्स, इजरायल र संयुक्त राज्य अमेरिकाबाट खरिद बढेको छ। भारतीय हतियार आयातमा रुसको हिस्सा सन् २०११–१५ मा ७० प्रतिशत रहेकोमा सन् २०१६–२० मा ५१ प्रतिशत र सन् २०२१–२५ मा ४० प्रतिशतमा झरेको प्रतिवेदनले उल्लेख गरेको छ।
सिप्री आम्र्स ट्रान्सफर कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता सिमोन वेजम्यानका अनुसार चीनको बढ्दो सैन्य क्षमता र यसको रणनीतिक उद्देश्यबारेको चिन्ताले एसिया तथा ओसिनियाका धेरै देशको रक्षा नीतिमा प्रभाव पारिरहेको छ। उनका अनुसार यस क्षेत्रका धेरै देश अझै आयातित हतियारमा निर्भर छन्।
वेजम्यानले दक्षिण एसियाको उदाहरण दिँदै भारतले ठूलो मात्रामा हतियार आयात गर्नुको मुख्य कारण चीनबाट देखिएको चुनौती र चीनबाट ठूलो मात्रामा हतियार प्राप्त गर्ने पाकिस्तानसँगको लामो समयदेखिको द्वन्द्व रहेको उल्लेख गरे। उनका अनुसार सन् २०२५ मा भारत र पाकिस्तानबीच भएको सैन्य तनावका क्रममा पनि आयातित हतियार प्रयोग गरिएको थियो र दुवै देश आणविक शक्ति सम्पन्न राष्ट्र हुन्।
सिप्रीको विश्लेषणले सन् २०२१–२५ को अवधिमा विश्वव्यापी हतियार आयातको ठूलो हिस्सा केही सीमित देशहरूमा केन्द्रित रहेको देखाएको छ। युक्रेन, भारत, साउदी अरेबिया, कतार र पाकिस्तानले संयुक्त रूपमा विश्वव्यापी कुल हतियार आयातको करिब ३५ प्रतिशत हिस्सा ओगटेका छन्।
विश्वव्यापी हतियार निर्याततर्फ हेर्दा संयुक्त राज्य अमेरिका सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ। यस अवधिमा विश्वव्यापी हतियार निर्यातको ४२ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको प्रतिवेदनमा उल्लेख छ। फ्रान्स ९.८ प्रतिशत हिस्सासहित दोस्रो ठूलो निर्यातकर्ता बनेको छ भने रूस ६.८ प्रतिशत हिस्सासहित तेस्रो स्थानमा रहेको छ।
पछिल्ला वर्षहरूमा रूसको हतियार निर्यातमा उल्लेखनीय गिरावट आएको पनि प्रतिवेदनले देखाएको छ। सन् २०१६–२० मा विश्वव्यापी हतियार निर्यातको २१ प्रतिशत हिस्सा रहेको रूसको निर्यात सन् २०२१–२५ मा घटेर ६.८ प्रतिशतमा झरेको छ। अल्जेरिया, चीन र इजिप्ट जस्ता प्रमुख ग्राहक देशहरूमा निर्यात घट्नु यसका मुख्य कारणका रूपमा उल्लेख गरिएको छ।
यसैबीच युक्रेनमा जारी युद्ध र बढ्दो सुरक्षा चिन्ताका कारण युरोपमा हतियार आयात उल्लेखनीय रूपमा बढेको छ। प्रतिवेदनका अनुसार सन् १९६० पछि पहिलो पटक विश्वव्यापी हतियार आयातमा युरोपले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ।
हाल विश्वव्यापी हतियार आयातमा युरोपको हिस्सा ३३ प्रतिशत रहेको छ भने एसिया तथा ओसिनियाको ३१ प्रतिशत र पश्चिम एसियाको २६ प्रतिशत हिस्सा रहेको प्रतिवेदनले जनाएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १३:०० सोमबार




-600x400.jpg)
