पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतलाई गल्ती नगर्न भन्दै धम्की दिएका छन्।
शनिबार सियालकोटमा पत्रकारहरूसँग कुरा गर्दै उनले यदि भारतले झूटो नाटक (फल्स फ्ल्याग अपरेशन) सुरु गरेमा द्वन्द्व सीमामा मात्र सीमित नभई कोलकातासम्म पुग्ने बताएका हुन्।
आसिफले भारतले आफ्नै कर्मचारी वा थुनामा रहेका पाकिस्तानीहरूलाई प्रयोग गरेर षड्यन्त्र गर्ने योजना बनाएको दाबी गरे। उनका अनुसार भारतले गत वर्षजस्तै यस पटक पनि ठुलो लज्जाको सामना गर्नुपर्नेछ।
आसिफले भने, ‘शवहरू कतै राखेर पाकिस्तानलाई आतंकवादको आरोप लगाउन सकिन्छ।’ यद्यपि उनले यो दाबीको लागि कुनै प्रमाण भने दिएनन्।
ख्वाजा आसिफको भनाइप्रति भारतको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर भारतीय रक्षामन्त्री राजनाथ सिंहले केरलाको एक कार्यक्रममा पाकिस्तानलाई चेतावनी दिएका छन्।
उनले भने, ‘यदि पाकिस्तानले अर्को गल्ती गर्यो भने, भारतीय सेनाले निर्णायक जवाफ दिनेछ। अपरेशन सिन्दूर अझै सकिएको छैन। यदि पाकिस्तानले फेरि आफ्नो फोहोरी चाल चल्यो भने भारतीय सैनिकहरूले कहिल्यै नबिर्सने जवाफ दिनेछन्।’
आसिफले हालै भारत र अफगान तालिबान सरकारले संयुक्त रूपमा पाकिस्तान विरुद्ध छद्म युद्ध गरिरहेको आरोप पनि लगाएका थिए। उनले भने, ‘यदि आवश्यक परेमा पाकिस्तानले अफगानिस्तानमा फेरि कारबाही गर्न सक्छ। यदि अफगानिस्तानले ठोस शान्ति ग्यारेन्टी प्रदान गरेन भने, पाकिस्तानले त्यहाँ नयाँ आक्रमण गर्न हिचकिचाउने छैन।’ आसिफले भारतसँग युद्धको सम्भावना अझै समाप्त नभएको पनि बताए।
यसअघि पूर्व पाकिस्तानी उच्चायुक्त अब्दुल बासितले पनि विवादास्पद बयान दिएका थिए। बासितले भनेका थिए, ‘यदि अमेरिकाले पाकिस्तानमाथि आक्रमण गर्यो भने, हामी अमेरिकासम्म पुग्न सक्दैनौँ किनभने त्यो हाम्रो आणविक दायरा भित्र छैन। त्यसो हुँदा हाम्रो विकल्प के हुनेछ? भारत। के हुन्छ हामी पछि हेर्नेछौँ।’ उनले यो सबैभन्दा खराब अवस्थाको विकल्प भएको बताएका थिए।
गत अप्रिल २२, २०२५ मा पहलगाम आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ सुरु गरेपछि तनाव बढेको थियो। त्यसबेला दुई देशबिच चार दिनसम्म तनाव जारी रह्यो। अमेरिकाले हस्तक्षेप गरेपछि मे १०, २०२५ मा युद्धविराम भएको थियो। एजेन्सी
प्रकाशित: २२ चैत्र २०८२ १४:२६ आइतबार


-600x400.jpg)


