२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा विदेशीको सङ्ख्या हालसम्मकै उच्च : ४० लाख नजिक, पर्यटक पनि बढे

फाइल तस्बिर

जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ। देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षहरूमा विदेशी कामदारहरूलाई ठूलो सङ्ख्यामा स्वीकार गरिएको छ।  

सरकारी तथ्याङ्क अनुसार सन् २०२५ को जुन महिनाको अन्त्यसम्म जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको सङ्ख्या ३९ लाख ५६ हजार पुगेको हो।  

अध्यागमन सेवा एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या सन् २०२४ को अन्त्यको तुलनामा करिब पाँच प्रतिशत अर्थात् एक लाख ८७ हजारले वृद्धि भएको हो। हाल जापानको कुल जनसङ्ख्याको तीन दशमलव २१ प्रतिशत हिस्सा विदेशी बासिन्दाहरूले ओगटेका छन्, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो।  

आवासीय स्थितिको आधारमा हेर्दा स्थायी बासिन्दाहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतले बढ्दै नौ लाख ३२ हजार ९० पुगेको छ, जसले सबैभन्दा ठूलो समूह प्रतिनिधित्व गर्छ। त्यसपछि दोभाषे र अन्य पेशागत कामदारहरू समेत समावेश इन्जिनियर, मानविकी तथा अन्तर्राष्ट्रिय सेवाका विशेषज्ञहरूको भिसा कोटीमा रहेका व्यक्तिहरूको सङ्ख्या नौ दशमलव चार प्रतिशतले बढेर चार लाख ५८ हजार १०९ पुगेको छ।  

अध्यागमन एजेन्सीका अनुसार हालको वृद्धिदर निरन्तर रहँदा सन् २०२५ को अन्त्यसम्म जापानमा विदेशी बासिन्दाहरूको सङ्ख्या करिब ४१ लाख ५० हजार पुग्ने अपेक्षा गरिएको छ।  

यसै अवधिमा सन् २०२५ को पहिलो अर्धवार्षिकमा जापानमा प्रवेश गर्ने विदेशी आगन्तुकहरूको सङ्ख्या समेत तीव्र रूपमा बढ्दै दुई करोड १३ लाख पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो। एजेन्सीको अनुमान अनुसार यस वर्षभर जापान प्रवेश गर्ने विदेशीहरूको कुल सङ्ख्या करिब चार करोड ५० लाख पुग्ने सम्भावना रहेको छ। सिन्ह्वा

प्रकाशित: २५ आश्विन २०८२ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App