उत्तर कोरियाले एक साताभन्दा कम समयमा दोस्रो पटक ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। अमेरिका र दक्षिण कोरियाले आगामी दिनमा गर्न लागेको संयुक्त सैन्य अभ्यासको विरोधस्वरूप उत्तर कोरियाले यो कदम चालेको उसका छिमेकी देशहरूले बताएका छन्।
दक्षिण कोरियाली सेनाका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ६ बजेतिर उत्तर कोरियाको पूर्वी तटबाट प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्रले सात सय किलोमिटरभन्दा बढी दूरी पार गरेको छ। दक्षिण कोरियाले अमेरिकासँगको सहकार्यमा उत्तर कोरियातर्फबाट आउने जुनसुकै उत्तेजनाको कडा प्रतिकार गर्न आफू तयार रहेको बताएको छ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियालाई यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। यो संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावविपरीतको उत्तेजक कार्य भएको दक्षिण कोरियाको भनाइ छ। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।
जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेको छ। जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले बेइजिङस्थित जापानी दूतावासमार्फत उत्तर कोरियाको कदमका लागि कडा विरोध जनाइएको जानकारी दिएका छन्। जापानको विशेष आर्थिक क्षेत्रबाहिर समुद्रमा खसेको यो क्षेप्यास्त्र करिब ९० किलोमिटरको अधिकतम उचाइमा पुगेको थियो।
दक्षिण कोरिया र अमेरिकाले आगामी अगस्ट १७ देखि २७ सम्म ठुलो स्तरको संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको दुई दिनपछि यो प्रक्षेपण भएको हो। उत्तर कोरियाले यस्ता अभ्यासलाई सधैँ आक्रमणको पूर्वाभ्यास भन्दै कडा विरोध गर्दै आएको छ। तर, अमेरिका र दक्षिण कोरियाले भने यो अभ्यास पूर्ण रूपमा रक्षात्मक भएको बताउँदै आएका छन्। एजेन्सी
प्रकाशित: २७ श्रावण २०८३ ०७:२९ बुधबार



-1200x560-600x400.jpg)

