२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरिया : सत्तारुढ दलको नेतामा फेरि किम जोङ उन निर्वाचित

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले किम जोङ उनलाई फेरि महासचिवमा निर्वाचित गरेको छ।

सरकारी मिडिया केसीएनएका अनुसार आइतबार उनी पुनः निर्वाचित भएका हुन्। यो घटनालाई त्यति आश्चर्यजनक मानिएको छैन, किनकि किम परिवारको तानाशाही शासन सन् १९४० को दशकको अन्त्यदेखि नै जारी छ।

समाचारमा किमको नेतृत्वमा उत्तर कोरियाले ‘युद्ध प्रतिरोध क्षमता’ मा ‘आणविक शक्तिलाई केन्द्र बनाएर’ ‘आमूलभूत रूपमा सुधार’ गरेको उल्लेख छ।

तर शासनको अत्यधिक गोपनीयताका कारण सेनाले वास्तवमा कति प्राविधिक प्रगति हासिल गरेको छ भन्ने स्पष्ट छैन। उत्तर कोरियाले आणविक हतियार कार्यक्रमका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ।

प्रत्येक पाँच वर्षमा आयोजना हुने पार्टी कंग्रेस फेब्रुअरी १९ मा सुरु भएको थियो।

केसीएनएका अनुसार वर्कर्स पार्टीको नवौं महाधिवेशनमा ५ हजार पार्टी सदस्य उपस्थित छन्।

यी महाधिवेशनले उत्तर कोरियाको राजनीतिक शक्ति संरचनाको दुर्लभ झलक दिन्छ, जुन अत्यन्त गोप्य रहन्छ।

किम उत्तर कोरियाली नेतृत्वको शीर्षमा रहे पनि सन् २०२१ को अन्तिम बैठकपछि पार्टी कंग्रेसको अध्यक्ष मण्डल (कार्यकारी समिति) मा फेरबदल भएको छ। यसका ३९ सदस्यमध्ये आधाभन्दा बढीलाई प्रतिस्थापन गरिएको जनाइएको छ।

यी बैठकहरू उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटना हुन्, जसले देशको प्राथमिकता, विदेश नीतिदेखि आणविक महत्वाकांक्षासम्मलाई लिएर अन्तर्दृष्टि दिन्छन्।

पार्टी सम्मेलनअघि किमले आणविक हतियार कार्यक्रमको अर्को चरण घोषणा गर्ने अपेक्षा गरिएको थियो। उत्तर कोरियाले आणविक सक्षम रकेट लन्चरहरूको दायरा अनावरण गरेको छ।

उद्घाटन भाषणमा किमले देशको अर्थतन्त्र र जनताको जीवनस्तर सुधार्ने वाचा गरेका थिए, जसलाई उनले ‘भारी र जरुरी ऐतिहासिक कार्यहरू’ भनेर वर्णन गरे।

अब सबैको नजर किमकी छोरी जु एमा छ कि उनी महाधिवेशनमा देखिन्छिन् कि देखिँदिनन्?

यस महिनाको सुरुमा दक्षिण कोरियाको गुप्तचर निकायले किमले जु एलाई उत्तराधिकारीको रूपमा चुनेको बताएको थियो। करिब १३ वर्षकी किम जु ए आधिकारिक कार्यक्रमहरू(मिसाइल निरीक्षणदेखि बेइजिङको सैन्य परेड)मा बुबासँगै देखा परेकी थिइन्।

त्यसअघि किमकी बहिनी किम यो जोङलाई उत्तराधिकारी बनाउने चर्चा चलेको थियो। किम यो जोङलाई शक्तिशाली र प्रभावशाली मानिन्छ। केही विश्लेषकहरूले यदि किम जोङ उनको स्वास्थ्य समस्या आएमा वा अचानक परिवर्तन भएमा उनीले सत्ता हत्याउने सम्भावना रहेको दाबी गर्दै आएका छन्। 

तर अहिले जु एलाई नै उत्तराधिकारीको रूपमा हेर्न थालिएको छ, जसले परिवारभित्रै तनाव निम्त्याउन सक्ने आंकलन भइरहेको छ। 

प्रकाशित: ११ फाल्गुन २०८२ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App