१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायत भ्रमणलाई नयाँ यात्रा प्रणाली लागू

अमेरिका र अस्ट्रेलियाजस्ता दर्जनौं देशका नागरिकहरूका लागि बेलायत भ्रमण गर्न नयाँ यात्रा प्रणाली लागु भएको छ । बुधबारदेखि लागु भएको इलेक्ट्रोनिक यात्रा अनुमति (ईटीए)ले आप्रवासन प्रणाली सुधार गर्ने त्यहाँको सरकारले दाबी गरेको छ । यद्यपि, यसले दुई वटा देशको नागरिकता राख्ने व्यक्तिहरूका लागि समस्या सिर्जना गरेको बीबीसीले जनाएको छ ।  

ईटीए के हो ?  

यो बेलायत भ्रमण गर्न चाहने विदेशी नागरिकहरूको लागि एक डिजिटल अनुमति हो । अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपेली युनियनका देशहरू लगायत ८५ वटा देशका नागरिक जसलाई पहिले भिसा चाहिदैनथ्यो, उनीहरूले अब अनिवार्य रूपमा ईटीए लिनुपर्नेछ । यो २ वर्षसम्म वा राहदानीको म्याद नसकिउञ्जेल वैध रहनेछ । यसले पटक–पटक बेलायत आउन अनुमति दिन्छ ।

ईटीए लिएका व्यक्ति एक पटकमा अधिकतम ६ महिनासम्म बेलायतमा बस्न पाउनेछन् । हाल यसको शुल्क १६ पाउण्ड (करिब २,७०० नेपाली रुपैयाँ) तोकिएको छ । यो भविष्यमा २० पाउण्ड पुग्न सक्ने खबरमा उल्लेख छ ।

दोहोरो नागरिकता भएकालाई समस्या

बेलायत र अर्को देश दुवैको नागरिकता भएका व्यक्तिहरूले यो लिन पाउँदैनन्। उनीहरूलाई बेलायत प्रवेश गर्न वैध बेलायती राहदानी वा विदेशी राहदानीमा टाँसिने सर्टिफिकेट अफ इन्टाइटल्मेन्ट अनिवार्य हुनेछ । यी कागजात नभएका व्यक्तिलाई विमानस्थलमा बोर्डिङ पास नदिइने वा यात्राबाट वञ्चित गरिने सम्भावना रहन्छ।

नेपाली नागरिकका लागि के हुन्छ?

नेपाली राहदानी भएका व्यक्तिहरू, जसलाई पहिलेदेखि नै बेलायत जान भिसा आवश्यक पर्छ । उनीहरूका लागि ईटिए लागू हुँदैन। उनीहरूले पहिलेझैँ भिसाकै लागि आवेदन दिनुपर्नेछ। तर, अब बेलायतले भिसा स्टिकरको सट्टा ई–भिसा प्रणालीलाई व्यापक बनाउँदै लगेको छ।

प्रकाशित: १३ फाल्गुन २०८२ १६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App