भारतको गुजरातस्थित बडोदरामा आवासीय क्षेत्रमा पसेर एक महिलालाई टोक्ने बाँदरलाई नियन्त्रणमा लिइएको छ।
वन विभागको टोलीले शनिबार उक्त बाँदरलाई नियन्त्रणमा लिएर खोरमा राखेको हो।
केही दिनअघि बिहान पैदल हिँड्न निस्केकी महिलालाई आवासीय परिसरमा पसेको बाँदरले अचानक टोकेको थियो। बाँदरले उनको शरीरका विभिन्न भागमा पटकपटक टोकेको बताइएको छ।
महिलाले सहयोगका लागि चिच्याएपछि नजिकै रहेका मानिसले उनको उद्धार गरेका थिए। त्यसपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय बासिन्दामा थप चिन्ता बढेको थियो। त्यसपछि घटनाबारे वन विभागलाई जानकारी गराइएको थियो।
इन्फिनियम कम्प्लेक्सका बासिन्दाले केही समयदेखि बाँदरहरू बारम्बार आवासीय परिसरमा पस्ने समस्या रहेको बताएका छन्। पछिल्लो घटनापछि विशेष गरी महिला र बालबालिकाको सुरक्षाबारे चिन्ता बढेको उनीहरू बताउँछन्।
केही परिवार आफ्ना बालबालिकालाई बाहिर पठाउन पनि डराउन थालेको स्थानीयको भनाइ छ।
बासिन्दाले उक्त बाँदरलाई नियन्त्रणमा लिएर आवासीय क्षेत्रबाट हटाउन वन विभाग र सम्बन्धित निकायसँग माग गरेका थिए।
स्थानीयले बडोदराका विभिन्न आवासीय क्षेत्रमा यस्ता समस्या दोहोरिने गरेको बताएका छन्। उनीहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले प्रभावकारी र दीर्घकालीन कदम चाल्नुपर्ने माग समेत गरेका छन्।
प्रकाशित: २९ कार्तिक २०८३ १२:०५ आइतबार





