२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो

फाइल तस्वीर।

तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर–इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ।

मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक हुन्। तर धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरबाट ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि बजारमा ग्राहक घटेका हुन्।

स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षदेखि राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ। उनलेविगतको तुलनामा व्यापार करिब ६० प्रतिशतले घटेको बताए।

अर्की व्यवसायी निशा श्रेष्ठले पनि कोरोना महामारीपछि व्यापारले पुरानै गति लिन नसकेको बताए। राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्टले सडकको पहुँच विस्तारसँगै महँगी र यस वर्ष दसैँमा पाथीभरा दर्शनार्थीको सङ्ख्या घट्नुले पनि व्यापार प्रभावित भएको बताए।

पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामका देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि तथा स्थानीय सामग्री राँके बजारमा बिक्रीका लागि ल्याउने गरेका छन्। अकबरे खुर्सानी र यसको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा जडीबुटी यहाँका प्रमुख स्थानीय उत्पादन हुन्।

राजमार्गमा आधारित व्यापार घटे पनि यहाँका स्थानीय उत्पादन तराई, काठमाडौँ र भारतका बजारसम्म पुग्ने गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताए।

प्रकाशित: २९ कार्तिक २०८३ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App