अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रुपमा सजाइएको छ।
छठ पर्वको मु्ख्य दिन आज बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अघ्र्य दिन राजधानीको यो मुख्य छठ घाटलाई दुलहीझै सिँगारिएको हो। छठ घाट एवं छठी माताको मूर्ति सजावट लगायत सबै तयारी पूरा भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए।
गुह्येश्वरी गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाटको निर्माण गरिएको छ। विगत वर्षभन्दा यहाँ आउने छठ व्रतालु यस वर्ष बढेको पनि उनले बताए।
कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाएर व्रतालु बसेका थिए। यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो।
यसैबीच पर्साका छठघाट पनि दुलहीझै सिँगारिएका छन्। यहाँका पोखरी, नदी, सरोवर र पौडी पोखरीसमेत झकिझकाउ पारिएको छ।
घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष रुपमा सजावट गरेका घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताए। छठ व्यवस्थापनका लागि रु २६ लाख विनियोजन गरिएको उनले बताए।
प्रकाशित: २९ कार्तिक २०८३ १०:०४ आइतबार





