कोलम्बियाको दक्षिणी क्षेत्रमा सोमबार वायुसेनाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। १२५ जना सवार रहेको अमेरिकी निर्मित सी-१३० हर्कुलस विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।
वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य रहेको बताएका छन्। पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो नजिकै भएको यस दुर्घटनामा ८० जना घाइते भएका छन्।
रक्षामन्त्री पेड्रो सान्चेजले विमानमा आगलागी हुँदा भित्र भण्डारण गरिएको गोला बारुद विस्फोट भएको जानकारी दिए। उनले पेरुभियन सिमाना नजिकै भएको यस घटनालाई ‘देशको लागि धेरै दुखद घटना’ भनेर वर्णन गरेका छन्।
दुर्घटनापछि स्थानीयहरूले घाइते सैनिकहरूलाई मोटरसाइकलमा राखेर अस्पताल पुर्याएका थिए। उद्धारकर्ताहरू अहिले पनि भग्नावशेषमा बाँचेकाहरूको खोजी हुँदैछ।
राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै यो भयानक दुर्घटना हुन नहुने भनेका छन्। उनले सशस्त्र बलको उपकरण र विमान आधुनिकीकरण गर्ने योजनामा भएको ढिलाइका लागि ‘नोकरशाही समस्या’ लाई दोष दिए। उनले लेखेका छन्, ‘म अब थप ढिलाइ सहन सक्दिनँ, हाम्रा युवाहरूको जीवन जोखिममा छ।’
सेनाले घाइतेहरूको विशेष उपचार भइरहेको र उद्धार कार्यमा सहयोग गर्ने सबै संस्थाहरूप्रति आभार प्रकट गरेको छ। यो कोलम्बियाली वायुसेनाको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक मानिएको छ। एजेन्सी
प्रकाशित: १० चैत्र २०८२ ०९:३० मंगलबार





