मध्यपूर्वमा चर्किएको युद्धले हर्मुज जलमार्गमा पूर्ण अवरोध पुगेपछि विश्व बजारमा तेलको मूल्यमा भारी वृद्धि देखिएको छ।
पछिल्लो जानकारी अनुसार ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा धेरै पुगेको छ। यसरी एक दिनमा २५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
यो सन् २०२२ पछि सबैभन्दा उच्च स्तर हो।
सोमबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेर ११६ डलर नजिक पुगेको छ। यसको प्रत्यक्ष असर सेयर बजारमा पनि परेको छ। जापानको निक्केई र अष्ट्रेलियाको एएसएक्स लगायतका बजारहरूमा ३ देखि ५ प्रतिशतसम्मको गिरावट देखिएको छ।
विश्लेषकहरूका अनुसार यदि हर्मुज मार्गको अवरोध मार्च अन्त्यसम्म कायम रह्यो भने तेलको मूल्य १५० डलरसम्म पुग्न सक्छ, जसले विश्वव्यापी मुद्रास्फीति र आर्थिक संकट निम्त्याउने डर छ।
यसबिच अमेरिका र इजरायलले इरानका तेल डिपो, रिफाइनरी तथा अन्य पूर्वाधारमा निरन्तर हवाई आक्रमण गरिरहेका छन्। इजरायली सेनाले यी डिपो आफूमाथि मिसाइल प्रहारका लागि इन्धन भर्न प्रयोग भएको दाबी गरेको छ।
तेहरान नजिकैका तेल भण्डारण स्थलहरूमा ठूलो आगलागी भएको छ।
इरानका पूर्व सर्वोच्च नेता अयतोल्लाह अली खामेनीको हत्यापछि छोरा मोज्तबा खामेनी लाई नयाँ सर्वोच्च नेता नियुक्त गरिएको छ। यसले द्वन्द्व थप तीव्र हुने संकेत दिएको छ।
इरानमाथि बहराइनको खानेपानीका लागि महत्त्वपूर्ण डिसेलिनेसन प्लान्टमा ड्रोन आक्रमण गरेको आरोप लागेको छ। बहराइनले यो हमलालाई नागरिक पूर्वाधारमाथिको आक्रमण भन्दै निन्दा गरेको छ। इरानले पनि अमेरिकी आक्रमणले आफ्नो डिसेलिनेसन प्लान्ट क्षति पुर्याएको दाबी गरेको छ।
साउदी अरेबियामा इरानी ड्रोन र मिसाइल आक्रमणमा केही विदेशी नागरिकको मृत्यु भएको छ। इरानले तेल डिपो, रिफाइनरी तथा अन्य पूर्वाधारमा निरन्तर आक्रमण भए खाडी क्षेत्रमा रहेका सोही प्रकृतिका पूर्वाधार लक्षित हमला गर्ने चेतावनी दिएको छ। इरानले इजरायलको हाइफा पोर्टमा आक्रमण गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक खतरा हटाउन यो मूल्य वृद्धि ‘तिर्नु पर्ने सानो मूल्य’ भएको बताएका छन्। बढ्दो खतराका बिच अमेरिकाले साउदी अरेबिया सहित खाडीका ८ राष्ट्रहरूबाट आफ्ना गैर-अत्यावश्यक कर्मचारी र परिवारलाई फिर्ता बोलाएको छ।
तेहरानमा तेल डिपोको आगलागीले वायु प्रदूषण र एसिड वर्षाको जोखिम बढेको भन्दै रेड क्रिसेन्टले चेतावनी दिएको छ। हर्मुज जलमार्गबाट हुने तेल ढुवानी लगभग ठप्प छ। यसबाट विश्वको २० प्रतिशत तेल आपूर्तिमा गम्भीर असर पुर्याएको छ। एजेन्सी
प्रकाशित: २५ फाल्गुन २०८२ १०:०७ सोमबार





