११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अनलाइन गेमिङमा पैसा गुमाएपछि मेडिकल विद्यार्थीले ज्यान दिए

अनलाइन गेमिङमा पैसा गुमाएपछि एक विद्यार्थीले आत्महत्या गरेका छन्। 

घटना भारत, कर्नाटकको हो। त्यहाँ बीदर आयुर्विज्ञान संस्थान (ब्रिम्स मेडिकल कलेज) को छात्रावासको कोठामा २१ वर्षीय एमबीबीएस अन्तिम वर्षका विद्यार्थी अनिष्कर चौहानले सोमबार राति झुण्डिएर आत्महत्या गरेका हुन्।

मंगलबार बिहान आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृतक फेला परेको प्रहरीले जानकारी दिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार घटनास्थलमा फोरेन्सिक टोली र प्रहरीले निरीक्षण गरेपछि यो आत्महत्या नै भएको निष्कर्ष निकालेको हो। मृतकका बुबाले प्रहरीमा औपचारिक उजुरी दर्ता गरेका छन्।

बीदरका प्रहरी अधीक्षक प्रदीप गुन्टीका अनुसार विद्यार्थीले अनलाइन गेम खेल्दा ७० देखि ८० हजार भारतीय रुपैयाँ गुमाएका थिए। उनले आफ्ना साथीहरूबाट उक्त रकम सापटी लिएका थिए। व्हाट्सएप सन्देश तथा अन्य च्याट जाँच गर्दा गेममा भएको आर्थिक घाटा र ऋणको दबाबबाट उनमा तनाव बढेको देखिएको छ।

उनको मोबाइल फोनबाट केही डाटा मेटाइएको पाइएको छ। त्यसैले उनी कुन अनलाइन एप वा गेम खेल्थे भन्ने यकिन गर्न प्राविधिक टोलीले डाटा रिकभरी गरी अनुसन्धान गरिरहेको छ। प्रहरीले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ११ चैत्र २०८२ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App