बेलायतको लण्डनस्थित ब्रेन्ट क्षेत्रमा सार्वजनिक स्थानमा पान थुक्ने दुई भारतीय मूलका व्यक्तिलाई अदालतले भारी जरिवाना सुनाएको छ। पान थुकेको आरोपमा उनीहरूले एक हजार ३९१ पाउन्ड (करिब दुई लाख ७६ हजार नेपाली रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको छ।
दैनिक भास्करका अनुसार सुरुमा दुवैलाई घटनास्थलमै सय पाउन्ड जरिवाना तिर्न भनिएको थियो। तर उनीहरूले अटेर गरेपछि मुद्दा अदालत पुग्यो र जरिवानाको रकम धेरै गुणा बढाइयो।
पहिलो घटना एजवेयरका अक्षितकुमार भद्रे पटेलसँग सम्बन्धित छ। उनले जुन २०२५ मा मेट्रो स्टेसन नजिकै पान थुकेका थिए। उनी अदालतमा उपस्थित नभएपछि उनको अनुपस्थितिमा फैसला सुनाउँदै जरिवाना १० गुणा बढाइएको हो।
दोस्रो घटनामा रुइस्लिपका हितेश पटेल संलग्न छन्। उनले वेम्बली हिल रोडमा पान थुकेका थिए। उनी पनि अदालतमा अनुपस्थित भएपछि ठूलो जरिवानाको भागीदार बनेका हुन्।
ब्रेन्ट सिटी काउन्सिलले पान थुक्ने विरुद्ध 'शून्य सहनशीलता' को नीति अपनाउँदै कडा अभियान सुरु गरेको छ। अधिकारीका अनुसार पानको दाग सफा गर्न काउन्सिलले हरेक वर्ष करिब ३० हजार पाउन्ड (झन्डै ६० लाख नेपाली रुपैयाँ) खर्च गर्नुपर्छ। 'यसले सार्वजनिक ठाउँलाई प्रदूषित बनाउँछ र सरसफाइको लागत पनि बढाउँछ,' काउन्सिलले भनेको छ।
हाल सो क्षेत्रमा चेतावनीका संकेतहरू टाँसिएका छन् र अधिकारीहरूले कडा गस्ती गरिरहेका छन्। एजेन्सी
प्रकाशित: ६ चैत्र २०८२ १४:०८ शुक्रबार





