श्रीलंकन एयरलाइन्सको सिड्नीका लागि उडेको उडान नम्बर युएल–६०६ को विमानको बायाँ इन्जिनमा आकाशमा चट्याङ परेपछि आपतकालीन अवतरण गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान काटुनायकेस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थल (बीआईए) बाट उडेको केही समयमै विमानमा चट्याङ परेको थियो। प्रतिकूल मौसम र विमानको बायाँ इन्जिनमा चट्याङ परेपछि विमानलाई स्थानीय समय अनुसार बिहान १:४० बजे सुरक्षित रूपमा सोही विमानस्थलमा फर्काएर अवतरण गरिएको हो। एयरलाइन्सको आधिकारिक विवरण अनुसार उक्त उडानमा २०७ जना यात्रु र १६ जना चालक दलका सदस्य सवार थिए।
घटना लगत्तै एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै विमान सुरक्षित रूपमा अवतरण गरेको पुष्टि गरेको छ। एयरलाइन्सले यात्रुहरूलाई सिड्नी पुर्याउन तुरुन्तै सोही मोडेलको दोस्रो एयरबस ए३३० विमान उपलब्ध गराएको थियो। उक्त वैकल्पिक विमान बिहान ५:५१ बजे सिड्नीका लागि प्रस्थान गरेको थियो।
एयरलाइन्सले यात्रु र चालक दलको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेकोमा जोड दिँदै आफ्नो सञ्चालनमा सुरक्षाको उच्चतम मापदण्ड कायम राख्न सबै आवश्यक उपायहरू अपनाउन जारी राख्ने बताएको छ। यसैबिच, चट्याङ लागेर इन्जिनको बाहिरी भागमा क्षति पुगेको विमानलाई प्राविधिक निरीक्षण र मर्मतका लागि विमानस्थलकै ह्यांगरमा पठाइएको छ।
प्रकाशित: ३१ जेष्ठ २०८३ ०९:१७ आइतबार





