२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, राजसंस्थाको सरकारी बजेट १० करोड पाउन्ड नजिक पुग्ने

बेलायतका राजा चार्ल्स तृतीयले इतिहासमै पहिलोपटक आफ्नो करसम्बन्धी विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनले सन् २०२४–२५ अवधिमा कुल १२ दशमलव ९ मिलियन पाउन्ड कर तिरेका छन्, जसले उनलाई बेलायतका सबैभन्दा धेरै कर तिर्ने शीर्ष १०० व्यक्तिमध्ये एक बनाएको छ।

वार्षिक राजकीय प्रतिवेदनअनुसार वेल्सका राजकुमारले पनि सोही अवधिमा ७ दशमलव ७६ मिलियन पाउन्ड कर तिरेका छन्। यस कदमलाई बेलायती राजसंस्थाभित्र पारदर्शिता बढाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

यसैबीच राजा चार्ल्स र रानी क्यामिलाले आगामी दिनमा पनि क्लेरेन्स हाउसलाई नै आफ्नो मुख्य निवास बनाउने र बकिङ्घम दरबारमा नसर्ने निर्णय भएको जानकारी दिइएको छ।

आर्थिक विवरणअनुसार राजपरिवार सञ्चालनका लागि सरकारले उपलब्ध गराउने ‘सवरेन ग्रान्ट’ अन्तर्गतको मुख्य सार्वजनिक बजेट आगामी तीन वर्षभित्र झण्डै दोब्बर भएर सन् २०२७–२८ सम्ममा १०० मिलियन पाउन्ड नजिक पुग्नेछ।

सन् २०२४–२५ मा उक्त अनुदान ८६ दशमलव ३ मिलियन पाउन्ड रहेको थियो, जसमध्ये ५१ दशमलव ८ मिलियन पाउन्ड नियमित प्रशासनिक खर्चमा र ३४ दशमलव ५ मिलियन पाउन्ड बकिङ्घम दरबारको मर्मत तथा पुनर्निर्माणमा खर्च गरिएको थियो।

दरबारको मर्मत कार्य सम्पन्न भएपछि कुल बजेट घटेर ९९ दशमलव ९ मिलियन पाउन्डमा झर्ने अनुमान गरिएको भए पनि यो अघिल्ला वर्षहरूको तुलनामा अझै उल्लेखनीय रूपमा उच्च रहने बताइएको छ।

यो बजेट राजपरिवारको प्रशासनिक सञ्चालन, कर्मचारी खर्च, शाही भ्रमण, आधिकारिक कार्यक्रम, दरबार व्यवस्थापन तथा अन्य राजकीय गतिविधिमा प्रयोग हुने गर्दछ। -बीबीसी

प्रकाशित: १२ असार २०८३ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App