१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलाको विषयमा कमला ह्यारिसले गरिन् राष्ट्रपति ट्रम्पको आलोचना

अमेरिकाकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले शनिबार साँझ ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई ‘पक्राउ’ गर्ने गरी गरेको कारबाहीको कडा आलोचना गरेकी छन्। उनले उक्त कदमलाई ‘गैरकानुनी’ र ‘अनावश्यक’ भनेकी छन्।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लामो पोस्ट लेख्दै ह्यारिसले मादुरो ‘क्रूर’ र ‘अवैध’ शासक भएको स्वीकार गरेकी छन्। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरेको कारबाहीले अमेरिका ‘अझ सुरक्षित, बलियो वा सस्तो’ नबन्ने उनको भनाइ छ।

उनले लेखेकी छन्, ‘डोनाल्ड ट्रम्पले वेनेजुएलामा गरेको कारबाहीले अमेरिका अझ सुरक्षित, बलियो वा किफायती बनाउँदैन। मादुरो क्रूर र अवैध तानाशाह हुन सक्छन्, तर यसले यो तथ्य परिवर्तन गर्दैन कि यो कारबाही गैरकानुनी र गलत थियो। हामीले यस्तो कुरा पहिल्यै पनि देखिसकेका छौँ।’

ह्यारिसले भनिन्, ‘सत्ता परिवर्तन वा तेलको नाममा लडिएका युद्धहरूलाई शक्तिको रूपमा प्रस्तुत गरिन्छ, तर अन्ततः ती अराजकतामा परिणत हुन्छन् र यसको मूल्य अमेरिकी परिवारहरूले चुकाउनुपर्छ।’ मादुरो र उनकी पत्नीलाई पक्राउ गरी भेनेजुएलाबाट अमेरिका लगिएको बताइएको छ।

पूर्व उपराष्ट्रपतिले ट्रम्प प्रशासनमाथि यो कारबाही न त लागूऔषध तस्करी रोक्नका लागि हो, न त लोकतन्त्र प्रवद्र्धनका लागि नै गरिएको आरोप पनि लगाएकी छन्। उनका अनुसार यसको पछाडि तेलसँग जोडिएका स्वार्थ छन्।

ह्यारिसले भनिन्, ‘यदि उनीहरूलाई साँच्चिकै यी विषयको चासो हुन्थ्यो भने, दोषी ड्रग तस्करलाई माफी दिने थिएनन् र मादुरोका निकटवर्तीहरूसँग सम्झौता गर्दै भेनेजुएलाका वैध विपक्षी शक्तिलाई किनारामा पार्ने थिएनन्।’ एजेन्सी

प्रकाशित: २० पुस २०८२ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App