इजराइलमा प्रधानमन्त्रीको कपालको स्टाइलिङ र मेकअपमा सन् २०१९ देखि अगस्ट २०२६ सम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् झन्डै ४ करोड रुपैयाँ खर्च भएको छ। सूचना अधिकारअन्तर्गत प्राप्त सरकारी अभिलेखबाट यस्तो खुलासा भएको हो।
डिसेम्बर २०२५ मा वकिल यारा शलितले प्रधानमन्त्री कार्यालयसँग उक्त खर्चको विवरण मागेकी थिइन्। त्यसपछि विभिन्न वर्ष र महिनामा भएको खर्चको विवरण सार्वजनिक गरिएको हो। यस अवधिमा पछिल्लो सात वर्षमा इजराइलमा तीन जना प्रधानमन्त्री बनेका छन्- बेन्जामिन नेतन्याहू, नफ्ताली बेनेट र याइर ल्यापिड।
अभिलेखअनुसार कपाल र मेकअपमा भएको कुल खर्चको करिब ९० प्रतिशत हिस्सा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी सारामाथि भएको छ। यद्यपि, केही दस्तावेजमा उनीहरूका हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको नाम लुकाइएको छ। प्रधानमन्त्री कार्यालयले यसको कारण राज्यको सुरक्षा रहेको जनाएको छ।
पाहुना र कपडामा पनि नेतन्याहूको खर्च बढी
कपाल र मेकअपबाहेक प्रधानमन्त्रीको कपडा तथा पाहुनाको आतिथ्यमा पनि सरकारी रकम खर्च हुन्छ।
यस शीर्षकमा नेतन्याहूसँग सम्बन्धित खर्च करिब १ करोड १२ लाख रुपैयाँ रहेको छ। यसको तुलनामा नफ्ताली बेनेटका लागि करिब १६ लाख रुपैयाँ र याइर ल्यापिडका लागि करिब २ लाख २० हजार रुपैयाँ खर्च भएको छ।
यद्यपि, सरकारले गहना, कपडा र इमेज कन्सल्टिङसँग सम्बन्धित केही खर्चको पूर्ण विवरण सार्वजनिक गरेको छैन। प्रधानमन्त्रीका हेयर स्टाइलिस्ट र मेकअप आर्टिस्टको नाम पनि केही दस्तावेजमा गोप्य राखिएको छ। प्रधानमन्त्री कार्यालयले यसका लागि राज्य सुरक्षालाई कारणका रूपमा प्रस्तुत गरेको छ।
कपालमा विभिन्न प्रयोग गर्छन् नेतन्याहू
नेतन्याहूको कपालको रंग परिवर्तन हुनु नयाँ कुरा होइन। पछिल्ला धेरै वर्षदेखि इजराइली सञ्चारमाध्यमले उनका कपालका विभिन्न रंगबारे समाचार प्रकाशित गर्दै आएका छन्। कहिले उनका कपाल गाढा खैरो देखिएका छन् भने कहिले खरानी, सेतो, हरियो वा बैजनी रंगको छायामा देखिएका छन्।
सन् २०१७ मा उनको बदलिँदो हेयर कलरको विषयमा यति धेरै चर्चा भयो कि उनले स्वयं यसबारे मजाक गरेका थिए। उनले ‘ब्राउन नयाँ ग्रे हो’ भनेका थिए। केही सातामै उनको पुरानै ग्रे रंग फर्किने पनि उनले बताएका थिए।
त्यसको केही वर्षपछि, सन् २०२१ मा नेतन्याहूले आफैं आफ्नो कपालको रंग परिवर्तन हुनुको रहस्य खुलाएका थिए। एक अन्तर्वार्तामा उनले कपालको रंग परिवर्तन गर्न सकिने किसिमको स्याम्पु प्रयोग गर्ने बताएका थिए। रंगसम्बन्धी प्रयोगका क्रममा उनका कपाल कहिले हरियो, कहिले खैरो र कहिले बैजनी भएको पनि उनले बताएका थिए।
प्रकाशित: २८ भाद्र २०८३ ०८:३६ आइतबार





