इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले अमेरिकी अधिकारीहरूले इस्लामाबाद वार्ताका क्रममा इजरायलले वरिष्ठ इरानी वार्ताकारलाई लक्षित गरेको भन्ने समाचारलाई अस्वीकार गरेको छ।
इजरायली प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित उक्त समाचार ‘फेक न्युज’ अर्थात् ‘नक्कली समाचार’ भएको जनाएको छ।
‘टाइम्स अफ इजरायल’ ले उल्लेख गरेअनुसार अमेरिकी अधिकारीहरूले यस वर्षको सुरुमा भएको वार्ताका क्रममा इरानी विदेश मन्त्री अब्बास अराघची र इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफमाथि इजरायलले आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। वर्तमान र पूर्व अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी मिडियाले अप्रिल ८ मा युद्धविरामपछि इजरायलले ती दुई वार्ताकारलाई निशाना बनाउने योजना बनाएको आरोप लगाएका थिए। यस्तै चिन्ताका कारण अमेरिकी अधिकारीहरूले अन्य देशलाई इजरायलले अराघची र घालीबाफलाई लक्षित गर्न सक्ने भन्दै चेतावनी दिन आग्रह गरेको समाचारमा उल्लेख छ।
जवाफमा इजरायली प्रधानमन्त्री कार्यालयले शुक्रबार उक्त रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। यसअघि ‘अल जजिरा’ ले सन् २०२५ को सेप्टेम्बरमा कतारको दोहामा युद्धविराम प्रस्तावबारे छलफल गर्न आएको हमासको वार्ता टोलीमाथि इजरायलले बम प्रहार गरेको आरोप लगाएको थियो।
यसैबीच, इजरायली प्रधानमन्त्री नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार फोनमा कुराकानी भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरू निकट भविष्यमा अमेरिकामा भेट्न सहमत भएका छन्। नेतान्याहूले अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसका अवसरमा ट्रम्पलाई बधाई दिएका छन्। यद्यपि, उक्त प्रस्तावित बैठकको मिति र स्थान तय भइसकेको छैन।
जुलाई १ मा कतार र पाकिस्तानले दोहामा अमेरिका र इरानी वार्ताकारहरूसँग छुट्टै बैठक सम्पन्न गरेपछि १४ बुँदे समझदारी पत्र (एमओयू) का विषयमा ‘सकारात्मक प्रगति’ भएको बताइएको छ। कतारका विदेश मन्त्रालयका प्रवक्ताले दुवै पक्ष आउँदो समयमा छलफल जारी राख्न सहमत भएको र अर्को बैठक इरानी सर्वोच्च नेताको अन्त्येष्टि पछि छिट्टै तय गरिने बताएका छन्।
प्रकाशित: २१ असार २०८३ ०७:४३ आइतबार





