इजरायली सेनाले गाजामा बमबारी जारी राख्दा विद्यालय, टेन्ट र घरमाथि भएको रातभरको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
चिकित्सकीय स्रोतहरूका अनुसार मृतक मध्ये छ जनाको मृत्यु गाजा सिटीको पश्चिमतर्फ रहेको विस्थापितहरूको लागि आश्रयस्थलमा परिणत गरिएको विद्यालयमाथि इजरायली सेनाले बमबारी गर्दा भएको हो।
उनीहरूले उक्त विद्यालयलाई अल–फराबी विद्यालय भएको बताएका छन्।गाजा सिटीको शेख रादवान टोलमा, इजरायली सेनाले एउटा टेन्ट र घरमाथि आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ, जसमा चार जना बालबालिका पनि थिए।
त्यसैगरी, गाजा सिटीको रेमल टोलमा विस्थापितहरू बसोबास गर्दै आएका टेन्टलाई इजरायली सेनाले लक्षित गर्दा दुई बालबालिकाको मृत्यु भएको छ।
यसबीच, इजरायली बन्दीहरूका परिवार र समर्थकहरूले सडकमा प्रदर्शन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना प्रियजनहरूको रिहाइका लागि सम्झौता गर्नुपर्ने माग गरेका छन्। एजेन्सी
प्रकाशित: २२ भाद्र २०८२ ११:४१ आइतबार





