इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहू ले दाबी गरेका छन् कि इरानका सुरक्षा प्रमुख अली लारिजानी लाई ‘खत्म गरिएको’ छ।
नेतन्याहूले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै भने, ‘अली लारिजानी रिभोल्युशनरी गाड्र्सका प्रमुख थिए, जुन वास्तवमा इरान चलाउने समूह हो। हामीले बसीजका कमाण्डरलाई पनि समाप्त गरेका छौं। यी नै ती मानिसहरू हुन्, जसले तेहरान र अन्य सहरहरूमा जनतालाई डर देखाउँछन्।’
उनले थप भने, ‘हामी यो शासनलाई कमजोर बनाइरहेका छौं, ताकि इरानका जनताले यसलाई हटाउने अवसर पाउन सकून्। यो तुरुन्तै हुने छैन, सजिलो पनि हुनेछैन। तर यदि हामी डटेर लाग्यौं भने उनीहरूले आफ्नो भविष्य आफैं तय गर्ने मौका पाउनेछन्।’
नेतन्याहूले भने, ‘हामी खाडी क्षेत्रमा आफ्ना अमेरिकी साथीहरूको सहयोग गरिरहेका छौं। मैले हिजो राष्ट्रपति डोनाल्ड ट्रम्प सँग यस विषयमा लामो कुराकानी गरेको थिएँ। म, राष्ट्रपति ट्रम्प र उनकी टोलीबीच राम्रो तालमेल छ। हामी अप्रत्यक्ष आक्रमणमार्फत इरानी शासनमाथि दबाब बढाउनेछौं र प्रत्यक्ष कारबाही पनि गर्नेछौं। अझै धेरै ‘सरप्राइज’ बाँकी छन्।’
उनले थपे, ‘म तपाईंहरूलाई भन्छु कि निराशा फैलाउने माध्यमहरूलाई बेवास्ता गर्नुहोस्। हामी ऐतिहासिक उपलब्धि हासिल गरिरहेका छौं। अक्टोबर ७ पछि हामी गम्भीर संकटमा थियौं, तर अहिले हामी बलियो शक्ति बनेका छौं। हाम्रो साथमा एक विश्व शक्ति छ, जसले काँधमा काँध मिलाएर लडिरहेको छ।’
उल्लेखनीय छ कि नेतन्याहूभन्दा अघि इजरायलका रक्षा मन्त्री काट्जले पनि अली लारिजानीको मृत्यु भएको दाबी गरेका थिए। इजरायली रक्षा बलले पनि यही दाबी गरेको थियो। तर यसबारे इरानको तर्फबाट कुनै पुष्टि भएको छैन। एजेन्सी
प्रकाशित: ४ चैत्र २०८२ ०७:२४ बुधबार





