अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै गएको र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बेइजिङले आफ्नो प्राथमिकताअनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्।
अमेरिकी विदेश नीति विश्लेषक रायन ह्यासका अनुसार चीनले तत्काल अमेरिकासँग प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार गरिरहेको छ।
चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता कायम राख्न चाहेको उनको भनाइ छ।
अमेरिकाको परम्परागत नेतृत्व भूमिकामा आएको कमीले चीनलाई थप अवसर दिएको छ। युएसएआइडीजस्ता कार्यक्रमको कटौती र अमेरिकी नीतिमा बढेको स्वार्थकेन्द्रित दृष्टिकोणले उसको ‘सफ्ट पावर’ कमजोर भएको विश्लेषण गरिएको छ।
यसबीच चीनले दुर्लभ–पृथ्वी तत्व, ऊर्जा तथा व्यापारका क्षेत्रमा आफ्नो रणनीतिक प्रभाव देखाउँदै आएको छ।
दक्षिण चीन सागरमा चीनको गतिविधि उसको बढ्दो आत्मविश्वासको अर्को उदाहरण हो। चीनको क्षेत्रीय दाबीविरुद्ध मध्यस्थताको स्थायी अदालतले गरेको फैसला बेइजिङले अस्वीकार गर्दै आएको छ।
फिलिपिन्सले चीनको दबाब र सूचना अभियानको सामना गर्न कठिन भइरहेको जनाएको छ।
चीन–अमेरिका शक्तिको अन्तर घट्दै गए पनि बेइजिङ तत्काल द्वन्द्व चाहँदैन। ह्यासका अनुसार चीनले अमेरिकालाई अझै ‘मुख्य रणनीतिक खतरा’ का रूपमा हेर्छ र द्वन्द्वबाट बच्दै सीमित सहयोग तथा दीर्घकालीन प्रतिस्पर्धाको नीति अघि बढाइरहेको छ।
तर शक्ति सन्तुलनमा आएको परिवर्तनले ‘थुसिडाइड्स ट्र्याप’ अर्थात् उदाउँदो र कमजोर हुँदै गएको शक्तिबीच द्वन्द्वको जोखिम भने बढाएको छ।
यसै सन्दर्भमा अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले सन् २०२८ सम्ममा चीनले ताइवानमाथि आक्रमण गर्ने सम्भावना तीनमध्ये एक रहेको अनुमान गरेका छन्।
उनले चिनियाँ सैन्य तयारी तीव्र बन्दै गएको र सन् २०२८ को ताइवान राष्ट्रपतीय निर्वाचनलाई सम्भावित जोखिमको विन्दुका रूपमा औँल्याए। यद्यपि चीनका लागि सैन्य कारबाही अझै अत्यन्त जोखिमपूर्ण रहेको उनको भनाइ छ।
बदलिँदो विश्व व्यवस्थामा ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ पनि कमजोर बनेको विश्लेषण भइरहेको छ। इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिजका प्रमुख कार्यकारी सर जोन चिपम्यानले अहिले शक्ति सन्तुलन र अन्तर्राष्ट्रिय नियम दुवै कमजोर रहेको बताए।
ह्यासका अनुसार चीन पुरानो व्यवस्था पूर्ण रूपमा ध्वस्त पार्नुभन्दा आफूअनुकूल पक्षलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय समर्थन जुटाउने रणनीतिमा अघि बढेको छ।
बेल्ट एन्ड रोडअन्तर्गत लगानी केही सीमित भए पनि चीन आर्थिक निर्भरतालाई राजनीतिक प्रभाव विस्तार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सक्षम बन्दै गएको उनको विश्लेषण छ।
अमेरिका आफ्नो परम्परागत नेतृत्व भूमिकाबाट पछि हट्दै जाँदा चीनका लागि अवसर बढेको भए पनि विश्वव्यापी नेतृत्वका लागि चीनले बयानबाजी मात्र नभई पर्याप्त स्रोत, अन्तर्राष्ट्रिय साझेदारी र विश्वसनीयता प्रदर्शन गर्नुपर्ने देखिन्छ।
त्यसैले २०२० को दशक चीनको दशक बन्ने सम्भावना बढे पनि त्यसको अन्तिम परिणाम अझै निश्चित भइसकेको छैन।एएनआई
प्रकाशित: ३० भाद्र २०८३ १६:०६ मंगलबार





