हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि तयार रहेको बताएको छ।
‘१२ दिनको युद्धमा प्रयोग गरिएका मिसाइलहरू केही वर्षअघि निर्माण गरिएका थिए,’ रक्षामन्त्री अजिज नासिरजादेहले आधिकारिक इरना समाचार एजेन्सीलाई उद्धृत गर्दै भने, ‘आज हामीसँग अघिल्ला मिसाइलहरू भन्दा धेरै क्षमतायुक्त मिसाइलहरू छन्, र यदि यहुदीवादी दुश्मनले फेरि आक्रमण सुरु गर्यो भने हामी निश्चय तिनलाई प्रयोग गर्नेछौं।’
जुन महिनाको मध्यतिर इजरायलले इरानविरुद्ध बम आक्रमण अभियान सुरु गरेपछि युद्ध चर्किएको थियो। त्यसको जवाफमा इरानले मिसाइल र ड्रोन आक्रमण गरेको थियो।
इजरायली आक्रमणमा वरिष्ठ सैन्य कमान्डर, आणविक वैज्ञानिकसहित सयौं मानिस मारिएका थिए। आक्रमण सैन्य आधार र आवासीय दुवै क्षेत्रमा गरिएको थियो।
संयुक्त राज्य अमेरिका पनि केही समयका लागि इरानी आणविक सुविधामाथि आक्रमण गर्दै युद्धमा संलग्न भएको थियो।
जुन २४ देखि इरान र इजरायलबीच युद्धविराम कायम छ। तर तेहरानले युद्ध खोजेको नभए पनि कुनै पनि द्वन्द्वका लागि तयार रहेको प्रष्ट पार्दै इरानी अधिकारीहरूले अर्को चरणको लडाइँ कुनै पनि क्षण सुरु हुनसक्ने चेतावनी दिएका छन्।
सोमबार प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले इरान ‘टकरावका लागि हरेक क्षण तयार’ रहनुपर्ने बताए। उनले भने, ‘हामी युद्धविराममा छैनौं; हामी शत्रुताको अन्त्यको अवस्थामा छौं।’
इरानी मिडियाका अनुसार सेनाले बिहीबार दुई दिने सैन्य अभ्यास सुरु गर्नेछ। यसमा छोटो र मध्यम दूरीका क्रुज मिसाइलहरूको विस्तृत शृङ्खला समावेश हुनेछ।
पश्चिमी मुलुकहरूले बारम्बार इरानको क्षेप्यास्त्र कार्यक्रमलाई क्षेत्रीय सुरक्षाका लागि खतरा भन्दै चिन्ता व्यक्त गरेका छन्।
जुलाईमा फ्रान्सले तेहरानसँग यसको आणविक कार्यक्रम मात्र नभई क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय महत्वाकांक्षा समेट्ने ‘व्यापक सम्झौता’ गर्न आह्वान गरेको थियो।
तर इरानले आफ्नो सैन्य क्षमतालाई वार्ताका लागि प्रस्तुत गर्न अस्वीकार गर्दै यसलाई आफ्नो रक्षा अधिकारको हिस्सा भएको दोहोर्याएको छ। एएफपी
प्रकाशित: ४ भाद्र २०८२ १७:४५ बुधबार



-600x400.jpg)

