अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरुद्ध सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले ल्याइएको 'युद्ध शक्ति प्रस्ताव' अमेरिकी सिनेटमा असफल भएको छ। रिपब्लिकन र डेमोक्र्याटबिचको तीव्र मतभेदका कारण ५३-४७ को मतले यो प्रस्ताव रोकिएको हो।
ट्रम्पले कंग्रेसको अनुमतिबिना इरानमा सैन्य आक्रमण गर्न नपाउने गरी ल्याइएको यो प्रस्तावलाई रिपब्लिकन नेतृत्वको माथिल्लो सदनले अगाडि बढ्न दिएन। मतदानका क्रममा डेमोक्र्याटहरूले सैन्य आक्रमणको कडा आलोचना गरे भने रिपब्लिकनहरूले राष्ट्रपतिको बचाउ गरेका थिए।
प्रस्तावका सह-प्रायोजक सिनेटर टिम केनले भने, ‘प्रशासन र उनीहरूको परिवर्तनशील तर्कहरूले अमेरिकालाई इरानबाट कुनै तत्काल खतरा थियो भन्ने कुनै प्रमाण दिन सकेनन्।’ उनले थपे, ‘के हामीले मध्य पूर्वको २५ वर्षे युद्धबाट केही सिकेका छैनौं? इरान र अफगानिस्तानमा १४ हजार अमेरिकी मारिए, ८ ट्रिलियन डलर खर्च भयो। हामीले यसको बदलामा के पायौं?’
त्यस्तै, सिनेटर प्याटी मरेले भनिन्, ‘हामीले अपूर्ण योजना र अनिश्चित भविष्यमा अमेरिकी जीवनलाई जुवा खेलाउनु हुँदैन।’
रिपब्लिकनहरूले भने ट्रम्पको कदमलाई जायज ठहर्याउँदै डेमोक्र्याटहरूले राजनीतिक स्वार्थका लागि विरोध गरेको आरोप लगाए। सिनेट विदेश सम्बन्ध समितिका अध्यक्ष जिम रिशले भने, ‘यो सधैंका लागि हुने युद्ध होइन, यो धेरै चाँडै समाप्त हुनेछ।’
ट्रम्पका समर्थक रिपब्लिकनहरूको बहुमत रहेकाले यो प्रस्ताव सफल हुने अपेक्षा पहिले नै गरिएको थिएन। १०० सिटको अमेरिकी सिनेटमा रिपब्लिकन ५३ जना रहेका छन्। उता, डेमोक्र्याटको संख्या दुई स्वतन्त्रसहित ४७ मात्र छ। एजेन्सी
प्रकाशित: २१ फाल्गुन २०८२ ०७:०६ बिहीबार





