१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान-अमेरिका तनाव: १८ अमेरिकी कम्पनीलाई इरानको धम्की, ट्रम्पद्वारा सैन्य अभियान रोक्ने संकेत

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कर्प्स (आईआरजीसी) ले विश्वका १८ ठूला अमेरिकी कम्पनीहरूलाई कडा चेतावनी दिएको छ।

इरानविरुद्धको शत्रुतापूर्ण अभियान र जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै ती कम्पनीका क्षेत्रीय कार्यालयहरूलाई निशाना बनाइने इरानले जनाएको हो। इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार एप्पल, गुगल, मेटा, माइक्रोसफ्ट, टेस्ला, एनभिडिया, ओरेकल, जेपी मोर्गन र बोइङजस्ता प्रविधि तथा औद्योगिक क्षेत्रका दिग्गज कम्पनीहरू इरानको निशानामा परेका छन्।

आईआरजीसीले यी कम्पनीहरूले जासुसीमार्फत इरानभित्र अमेरिकी-इजरायली आतंकवादी कारबाहीमा सहयोग गरेको दाबी गरेको छ। सैन्य संगठनले अप्रिल १ (आज) इरानको समयअनुसार राति ८ बजेदेखि सुरु हुने प्रतिशोधात्मक आक्रमण निकै विनाशकारी हुने भन्दै सम्बन्धित कम्पनीहरूलाई तयार रहन समेत स्पष्ट पारेको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकाले कुनै पनि देशलाई सैन्य वा अन्य सहयोग नगर्ने बताएका छन्। विभिन्न देशले आफ्नो सुरक्षा र अवस्थाको व्यवस्थापन आफैँ गर्नुपर्ने उनको भनाइ छ। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्ट्रेट अफ होर्मुजबाट इन्धन प्राप्त गर्न नसकेका बेलायत जस्ता देशले अब अमेरिकाबाट तेल किन्नु पर्छ किनभने हामीसँग यसको कुनै अभाव छैन।’ उनले अगाडि थपेका छन्, ‘यदि कुनै देश तेल चाहन्छ भने साहस देखाओस् र आफैँ होर्मुज पुगोस्। जसरी अमेरिका कसैको सहायता माग्न गएको छैन, त्यसरी नै अरूको सहायताका लागि पनि अघि आउने छैन।’

ट्रम्पले इरान धेरै हदसम्म कमजोर भइसकेको र सबैभन्दा कठिन सैन्य कार्यहरू पूरा भइसकेको दाबी गरेका छन्। उनले आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकी सेनाले इरान छाड्न सक्ने र होर्मुज जलमार्ग खुला राख्ने जिम्मेवारी त्यसमा निर्भर राष्ट्रहरूकै हुने स्पष्ट पारेका छन्। ‘यो हाम्रो काम होइन, यो फ्रान्स वा यो मार्ग प्रयोग गर्ने देशहरूको जिम्मेवारी हो,’ उनले भनेका छन्। ट्रम्पले इरानमा अमेरिकी सैन्य अभियान अन्त्य हुनेबित्तिकै अमेरिकामा घरेलु ग्यासको मूल्य ह्वात्तै घट्ने आशावादी दृष्टिकोण पनि राखेका छन्, जुन प्रति ग्यालन चार डलर पुगेको छ।

यसअघि, अमेरिकाले इरानको इस्फाहान सहरमा रहेको हतियार डिपोमा दुई हजार पाउन्डको ‘बंकर-बस्टर’ बम प्रयोग गरी भिषण हवाई आक्रमण गरेको थियो। वाल स्ट्रिट जर्नलका अनुसार सोमबार राति भएको उक्त आक्रमणपछि डिपोमा रहेका हतियारहरू पड्किँदा शृङ्खलाबद्ध विस्फोट र ठूलो आगलागी भएको थियो। ट्रम्पले उक्त विस्फोटको भिडियो समेत सामाजिक सञ्जालमा साझा गरेका थिए।

बढ्दो तनावका बिच, ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले बुधबार राति ९ बजे राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने र इरान युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिने जनाएको छ। अर्कोतर्फ, इसाई धर्मगुरु पोप लियोले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष अपिल गर्दै इरान युद्ध अन्त्यको उपाय खोज्न आग्रह गरेका छन्।

इरानमा पनि इस्लामिक गणतन्त्रको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अरागचीले जनसभाहरूलाई सम्बोधन गर्दै जनताको मनोबल बढाउने प्रयास गरेका छन्। एजेन्सी 

प्रकाशित: १८ चैत्र २०८२ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App