इरान र अमेरिका-इजरायलबिचको द्वन्द्व ५९औँ दिनमा प्रवेश गर्दा कूटनीतिक गतिविधिमा तीव्र वृद्धि भएको छ। इरानी विदेशमन्त्री अब्बास अराघची छिमेकी देशहरू र रणनीतिक साझेदारहरूसँग परामर्शका लागि सक्रिय देखिएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तान हुँदै सोमबार बिहान मस्को पुगेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अन्य उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ।
दुई दिनमा दोस्रो पटक पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका अराघचीले त्यहाँका नेताहरूसँग भेटघाट गरेका थिए। यसअघि शनिबार उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरसँग भेट गरेका थिए। इरानले अमेरिकासँग सिधै वार्ता नगर्ने र पाकिस्तानमार्फत आफ्नो कुरा राख्ने स्पष्ट पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको वार्ता टाढाबाट नै गरिने कुरा दोहोर्याएका छन्। वासिङ्टन र तेहरानबिच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको पाकिस्तानको प्रशंसा गर्दै इस्लामाबाद यस प्रक्रियामा ‘सहभागी रहने’ उनले जानकारी दिए। अमेरिकी राष्ट्रपतिको टिप्पणी फक्स न्यूजसँगको फोन अन्तर्वार्ताको क्रममा आएको हो।
उनले भने, ‘यदि उनीहरू (इरान) कुरा गर्न चाहन्छन् भने उनीहरू हामीकहाँ आउन सक्छन्, वा हामीलाई फोन गर्न सक्छन्। तपाईंलाई थाहा छ, त्यहाँ टेलिफोन छ। यदि उनीहरूले चाहन्छन् भने कुरा गर्न सक्छन्, तर हामी मानिसहरूलाई भेट्न १८ घण्टा यात्रा गर्न पठाइरहेका छैनौँ।’ इरानसँगको दोस्रो चरणको वार्ताका लागि इस्लामाबाद जाने अमेरिकी विशेष दूत स्टिभ विटकफ र सल्लाहकार जारेड कुशनरको योजनाबद्ध भ्रमण रद्द गरेको एक दिनपछि उनको यो भनाइ आएको हो।
अप्रिल ८ मा पाकिस्तानको मध्यस्थतामा भएको युद्धविरामपछि, अप्रिल ११ र १२ मा इस्लामाबादमा ऐतिहासिक प्रत्यक्ष अमेरिका-इरान वार्ताको पहिलो चरण सम्झौता बिना नै सम्पन्न भएको थियो। यस प्रक्रियामा पाकिस्तानको भूमिकालाई स्वीकार गर्दै ट्रम्पले भने, ‘पाकिस्तानप्रति ठुलो सम्मान छ किनभने उनीहरूले उत्कृष्ट काम गरेका छन्, उनीहरूले साँच्चै प्रयास गरेका छन्। त्यसैले हामी यो टेलिफोनबाट गर्नेछौँ। यदि उनीहरू (इरान) चाहन्छन् भने, उनीहरूले हामीलाई फोन गर्न सक्छन्। तर फेरि, उनीहरूलाई थाहा छ कि सम्झौतामा के हुनुपर्छ—धेरै सरल कुरा, उनीहरूसँग आणविक हतियार हुन सक्दैन। अन्यथा, भेट्नुको कुनै कारण छैन।’
इस्लामाबादको छोटो बसाइपछि अराघची ओमान पुगेर त्यहाँका सुल्तान हैथम बिन तारिकसँग युद्ध र शान्ति प्रयासका बारेमा छलफल गरेका थिए। ओमानमा भएको वार्तापछि उनले छिमेकी देशहरू इरानको प्राथमिकता भएको बताए। होर्मुज जलमार्गमा तटीय राज्यका रूपमा इरान र ओमानको सुरक्षित पारवहन सुनिश्चित गर्ने जिम्मेवारी रहेको र यसले विश्वलाई फाइदा पुर्याउने उनको भनाइ छ। इरानको कूटनीतिक प्राथमिकता छिमेकीहरूसँग सहयोग र समन्वय बढाउनु रहेको उनले बताए।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिचको द्वन्द्व चाँडै अन्त्य हुन सक्ने संकेत दिएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले सैन्य र आर्थिक दबाबका कारण इरान कमजोर भएको र समाधानतर्फ अघि बढ्न सक्ने दाबी गरेका हुन्। ट्रम्पका अनुसार अमेरिकाले इरानको नौसेना र वायुसेनाको क्षमतालाई उल्लेखनीय क्षति पुर्याएको छ र नाकाबन्दीका कारण इरानको आर्थिक अवस्था नाजुक बनेको छ।
कूटनीतिक प्रयासहरू तीव्र भइरहँदा युद्धमैदानमा भने तनाव कायमै छ। अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामका बाबजुद इजरायली सेनाले दक्षिणी लेबनानमा बमबारी जारी राखेको छ, जसमा आइतबार दुई बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ। हिजबुल्लाहले इजरायली सेनामाथि गरेका आक्रमणहरू इजरायलले गरेको ‘युद्धविरामको निरन्तर उल्लङ्घन’ को वैध प्रतिक्रिया भएको दाबी गरेको छ। यता होर्मुज जलमार्गमा इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई अस्वीकार गर्दै आफ्नो नियन्त्रण कायम रहेको सन्देश दिन खोजिरहेको छ।
पछिल्ला २४ घण्टामा केही सकारात्मक संकेतहरू पनि देखिएका छन्। जर्मनीले होर्मुज जलमार्गबाट बारुदी सुरुङ हटाउने अभियानमा भाग लिने बताएको छ। उता, युद्धपछि इरानबाट हज यात्रीहरूको पहिलो समूह मदिना पुगेको छ, जसलाई दुई देशबिचको सम्बन्ध सामान्यीकरणको संकेतका रूपमा हेरिएको छ। इरानी विदेशमन्त्रीले आफ्नो पाकिस्तान भ्रमणलाई अत्यन्त उपयोगी बताउँदै शान्ति पुनर्स्थापनाका लागि पाकिस्तानको प्रयासको प्रशंसा गरेका छन्। कूटनीतिक प्रक्रियाले समय लिए पनि इस्लामाबाददेखि मस्कोसम्मको सक्रियताले द्वन्द्व अन्त्यको आशा जगाएको छ। एजेन्सी
प्रकाशित: १४ वैशाख २०८३ ०७:२२ सोमबार


-600x400.jpg)


