२५ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान-अमेरिकाबिच युद्धविराम: स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय

इरान र अमेरिका तत्काल युद्धविराम गर्न सहमत भएका छन्। पाकिस्तानले बुधबार यसको घोषणा गर्दै विवादको स्थायी समाधानका लागि अप्रिल १० मा दुवै देशका प्रतिनिधिमण्डललाई इस्लामाबाद आमन्त्रित गरेको बताएको छ।

प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा युद्धविरामको स्वागत गर्दै दुवै देशको नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले विवाद समाधानका लागि निर्णायक सम्झौता गर्न वार्ता तय गरिएको बताए। दुवै पक्षले 'उल्लेखनीय बुद्धिमत्ता' प्रदर्शन गरेको भन्दै उनले ‘इस्लामाबाद वार्ता’ सफल हुने आशा राखेका छन्।

एक महिनाभन्दा लामो समयदेखि जारी तनाव कम गर्न पाकिस्तानको कूटनीतिक प्रयासपछि यो सफलता मिलेको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलमार्ग पूर्ण रूपमा खोलेमा दुई हप्ताका लागि बम विष्फोट स्थगित गर्ने बताएका थिए। इरानले पनि आक्रमण रोकिए आफ्नो रक्षात्मक कार्य बन्द गर्ने र जलमार्गबाट सुरक्षित मार्ग दिने बताएको छ। 

ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख एवं फिल्ड मार्शल आसिम मुनीरसँगको कुराकानीपछि आक्रमण स्थगित गर्न सहमत भएको उल्लेख गर्दै भनेका छन्, 'यो दुईतर्फी सिजफायर हुनेछ!' उनले इरानबाट प्राप्त १० बुँदे प्रस्ताव वार्ताका लागि व्यावहारिक आधार भएको समेत बताएका छन्। 

इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि आक्रमण रोकिए रक्षात्मक कार्य बन्द हुने पुष्टि गरे। उनले पाकिस्तानी नेतृत्वलाई धन्यवाद दिँदै दुई हप्ताका लागि होर्मुज जलमार्गबाट सुरक्षित मार्ग सम्भव हुने बताए। इरानको १० बुँदे प्रस्तावमा इरानविरुद्धको आक्रमण रोक्नुपर्ने, प्रतिबन्धहरू हटाउनुपर्ने र क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने जस्ता माग रहेका छन्।

यस प्रक्रियामा पाकिस्तानले सहजकर्ताको भूमिका निर्वाह गरेको छ। उपप्रधानमन्त्री इशाक डारले पनि विभिन्न देशका विदेशमन्त्रीहरूसँग छलफल गरी शान्ति प्रयासलाई अगाडि बढाएका छन्। फेब्रुअरी २८ मा सुरु भएको यो तनाव अन्त्यका लागि मार्च महिनादेखि नै पाकिस्तानले वार्ताको प्रस्ताव राख्दै आएको थियो। एजेन्सी 

प्रकाशित: २५ चैत्र २०८२ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App