७ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानका सर्वोच्च नेता खामेनीको दाबी: शत्रु पराजित, हाम्रो राष्ट्रिय एकता बलियो छ

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले फारसी नयाँ वर्ष ‘नौरोज’ को अवसरमा शुक्रबार लिखित सन्देश जारी गर्दै अमेरिका र इजरायलको प्रहारका बाबजुद इरानका शत्रुहरू पराजित भइरहेको बताएका छन्। 

गत फेब्रुअरी २८ मा आफ्ना बुबा अयातोल्लाह अली खामेनीको हत्यापछि सत्ता सम्हालेका मोज्तबाले हालसम्म सार्वजनिक रूपमा देखा नपरी टेलिभिजनमार्फत यो विज्ञप्ति जारी गरेका हुन्।

खामेनीले इरानी जनताको दृढताको प्रशंसा गर्दै यस वर्षलाई ‘राष्ट्रिय एकता र सुरक्षा अन्तर्गत प्रतिरोध अर्थतन्त्रको वर्ष’ घोषणा गरेका छन्। उनले भनेका छन्, ‘धार्मिक, बौद्धिक र राजनीतिक भिन्नताका बाबजुद देशवासीमा देखिएको विशेष एकताका कारण शत्रु पराजित भएको छ।’ अमेरिका र इजरायलले केही दिनको आक्रमणमै इरानी सरकार ढल्ने ठाने पनि त्यो ‘घोर गलत गणना’ सावित भएको उनको दाबी छ।

सर्वोच्च नेताले शासनको माथिल्लो तह र सैन्य व्यक्तित्वको सहादतबाट इरानी जनतामा डर पैदा गरी देश टुक्राउने शत्रुको सपना भ्रम मात्र रहेको उल्लेख गरेका छन्। उनले थपेका छन्, ‘बरु अहिले शत्रुमै दरार देखा परेको छ।’ 

खामेनीले टर्की र ओमानमा भएका आक्रमणमा इरानको संलग्नता अस्वीकार गर्दै ती घटना छिमेकीबिच कलह गराउन शत्रुले प्रयोग गरेको ‘झूटा झण्डा’ (फल्स फ्ल्याग) भएको दाबी गरे।

यसैबिच, इरानका राष्ट्रपति मसूद पेजेश्कियानले पनि नौरोज सन्देश दिँदै इरानले आणविक हतियार नचाहेको र छिमेकीसँग युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘हाम्रा कठिनाइहरू शत्रुको हस्तक्षेपका परिणाम हुन्, हामी यस क्षेत्रमा बाहिरी शक्तिको उपस्थिति चाहँदैनौँ।’

खामेनीले अफगानिस्तान र पाकिस्तानलाई पनि आपसी लडाइँ अन्त्य गर्न आह्वान गर्दै आफू सहयोगका लागि तयार रहेको बताए। हप्तौँको हिंसापछि इद अल-फित्रको अवसरमा छिमेकी देशहरू शत्रुतापूर्ण व्यवहारलाई अस्थायी रूपमा रोक्न सहमत भएका छन्। 

विश्लेषकहरूका अनुसार इरानी प्रणाली जस्तोसुकै कठिन मोडमा पनि अगाडि बढ्न सक्ने गरी तयार पारिएको छ। एजेन्सी 

प्रकाशित: ७ चैत्र २०८२ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App