८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

लहलहैमा लागुऔषधको लत

फागुन ३० गते सप्तरीको तिरहुत गाउँपालिका २ वडहराबाट प्रहरीले १११ किलो गाँजासहित दुईजनालाई पक्राउ गर्‍यो। सप्तरीको कञ्चनपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.२०१–००१ ह००२२ नम्बरको अटो रिक्सामा प्रहरीले तलासी गर्दा लागुऔषध गाँजा बरामद भएपछि सँगै रहेका दुईजना पक्राउ परेका हुन्।

सेतो रङको बोराभित्र कालो प्लास्टिकमा राखिएको तयारी गाँजासहित कञ्चनरुप नगरपालिका–७ का अटोचालक ४२ वर्षीय जामुन महतो र सोही ठाउँकी २८ वर्षीया कविताकुमारी माझीलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

सोही दिन पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकास्थिच बस पार्कबाट काठमाडौंतर्फ हिँडेको ना१ज२७६५ नम्बरको टाटा सुमोको छतमा तलासी गर्दा त्रिपालले छोपेर राखिएको रातो रंगको झोला र बोराबाट ५२ हजार ३०० लागुऔषध ट्याबलेट बरामद गर्‍यो।

उक्त लागुऔषध ओसारपसार आरोपमा बारा परमानीपुर गाउँपालिका–१ का ४२ वर्षीय रामआशिष् राउत र पर्सा बहुदरमाई नगरपालिका– २ का ३० वर्षीय सुभास सर्राफलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

त्यस्तै चैत १ गते प्रहरीले सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०२–०५३ प ४२७५ नम्बरको मोटरसाइकलमा सवार यात्रुको झोला जाँच गर्दा  लागुऔषध ट्याबलेट र सिरप बरामद भयो। झोलामा रहेको सिरप २० बोतल र १० वटा ट्यावलेटसहित सिरहा मिर्चैया नगरपालिका–८ मझाउका २६ वर्षीय जितेन्द्रकुमार महतोलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

मधेस प्रदेशमा लागुऔषध कारोबारका यी प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरी कारबाही चलाए पनि कारोबार घट्नुको साटो बढिरहेको छ। लागुऔषध कारोबारीहरूले सञ्जाल नै स्थापना गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी बताउँछ।

सीमावर्ती भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागुऔषधलाई मधेसबाट मुलुकका विभिन्न ठाउँमा पुर्‍याउने गरिएको छ। भारतीय बजारमा खुलमखुला बेचबिखन हुने लागुऔषध सीमानाकाबाट वारि ल्याइन्छ। खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै लागुऔषध र पदार्थ वारिपारि गराइन्छ। यसैकारण मधेस प्रदेश लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ।

मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट पहाडी जिल्ला र संघीय राजधानी काठमाडौंलगायतका सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय लहान, सिरहा, गोलबजार, कुसहा, राजविराज, बर्दिवास, जनकपुरधामलगायत हुँदै लागुऔषध ओसारपसार हुनेगरेको लागुऔषध नियन्त्रण अभियन्ता बताउँछन्।

पछिल्लो तीन वर्षको तथ्यांक (आर्थिक वर्ष २०८०/८१ देखि ८२/८३ फागुनसम्म) केलाउँदा लागुऔषधसहित नेपाली पुरुष दुई हजार ९७, महिला ८७ तथा भारतीय पुरुष ८२० र महिला नौजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मधेस प्रदेशमा दैनिक औसत दुईजना लागुऔषधसहित पक्राउ पर्छन्। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुुसार लागुऔषधसहित आर्थिक वर्ष (आव) २०७७/७८ मा ९९९ जना पक्राउ परेका थिए।

त्यस्तै लागुऔषधसहित आव २०७८/७९ मा एक हजार २८५, आव ७९/८० मा एक हजार ३०४ जना, आव ८०/८१ मा १ हजार १०४ जना, आव ८१/८२ मा ८३६ जना र ८२/८३ को फागुनसम्म ५४८ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरू प्रायः ३० वर्ष उमेमुनिका छन्। उनीहरूबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरू लागुऔषध बरामद भएको छ। चालु आवको फागुनसम्म प्रहरीले आठवटा जिल्लाबाट १० हजार ९८ किलो गाँजा, २७२ किलो ५४३ ग्राम चरेस, २ हजार ३ सय ९० ग्राम हेरोइन, ३७९ ग्राम ९०२ मिलिग्रम ब्राउन सुगर, २ लाख २२ हजार ८६९ ट्याबलेट (लागुऔषध), एक हजार ९२ बोतल (लागुऔष) र १५ हजार ६७१ थान इन्जेक्सन बरामद गरेको छ। सीमापारिका सहरबाट शरीरका विभिन्न भागमा, मोटरसाइकल र गाडी, खाद्यान्नका बोरामा लुकाएरसमेत लागुऔषध ल्याउने गरिएको प्रहरी अधिकारी बताउँछन्।

सानै उमेरमा लागुऔषधको लतमा

चिकित्सकको सिफारिसबिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा बेच्ने गरिएको छ। सीमापारिका औषधि पसलेले यस्ता औषधि कारोबारीलाई बढी मूल्यमा बेच्छन्। कारोबारीले पारिबाट वारि ल्याउँछन्। यसैकारण कारोबारी र दुव्र्यसनीको बिगबिगी बढ्दै गएको सीमावर्ती माड्रमा भेटिएका आफूलाई रफिक भन्नेले बताए। ‘नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउँछन्,’ उनले भने, ‘प्रहरीको आँखा छलेर काराबारी र सेवनकर्ताहरू दिनहुँजसो वारिपारि गर्छन्। कारोबारीले सीमामा तैनाथ सुरक्षाकर्मीलाई मिलाएरै लागुऔषधको खेप लगाउँछन्। यो ओपन सेक्रेट जस्तै छ’, उनले भने।

खराब संगत, पारिवारिक किचलो र डिप्रेसन, अभिभावकको निगरानी नहुनुको फाइदा उठाउँदै कुलतमा फस्ने युवा/किशोरकिशोरीको संख्या बढिरहेको सीमावर्ती बरियारपट्टीका रामफल यादव बताउँछन्। ‘छोराछोरी लागुऔषधको कुलतमा लागेको जान्दाजान्दै पनि इज्जत जाने डरले कतिपय अभिभावक चुप बस्छन्,’ यादवले भने, ‘पछि छोरोछोरीको चालचलन थेग्न नसक्ने अवस्था आएपछि मात्र प्रहरीलाई केही दिन थुनिदिन भन्दै गुहार लगाउँछन् । नभए सुधार केन्द्र पुर्‍याउँछन्।’

अहिले गाउँघरमा युवा तथा किशोरकिशोरीहरू आफन्तको सम्पर्कभन्दा टाढा बस्न रुचाउँछन्। ‘एक्लै झोक्रिएर बस्ने। झर्किएर बोल्ने। यी सबै कुलतमा फसेका युवाहरूका लक्षण हुन्,’ यादव भन्छन्, ‘अहिले गाउँघरका युवा लागुऔषधको दलदलमा पर्दै गएका छन्।’

दुर्व्यसनबाट छुटकारा दिलाउन कानुनी कारबाही मात्रले सम्भव नरहेको उनको भनाइ छ। सबैभन्दा पहिले उनीहरूको समस्या पहिचान गर्नु जरुरी छ। कानुनीसँगै मनोपरामर्शात्मक उपचार अवश्यक रहेको उनी बताउँछन्। सानै उमेरका किशोरकिशोरी दुव्र्यसनमा फस्नुका पछाडि उनीहरूको संगत मात्रै मुख्य कारण देखिन्न। अभिभावकको कमजोरीले पनि उनीहरू दुव्र्यसनी बनेको देखिन्छ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी गोविन्द थपलियाले पछिल्ला वर्षमा मधेसमा लागुऔषध ओसारपसार र सेवन बढ्दै गएको स्वीकार गरे। ‘सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्वयं अभिभावक र समाज पनि सचेत र चनाखो बन्नु जरुरी छ।’

मधेस प्रदेश प्रहरी कार्यालयले दुव्र्यसनीलाई सुधारात्मक कारबाही पनि चलाइरहेको जानकारी उनले दिए। कारोबारीको हकमा नियन्त्रणमा लिएर कारबाही अघि बढाउने अभियान चलाइएको डिआइजी थपलियाले बताए।

कसिलो सञ्जाल

मधेस प्रदेशका आठवटै जिल्लाका सिमानाकाबाट दैनिक पारि पुगेर प्रहरीको आँखा छलेर लागुऔषध बोकेर फर्किनेको संख्या पनि बढ्दै छ । लागुऔषध कारोबारीले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेशअन्तर्गतका सीमावर्ती जिल्लाबाट ओसारपसार गरिरहेका छन्। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीहरूको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधि पसलबाट मधेसमा भित्र्याइने लागुऔषध यहाँबाट विभिन्न ठाउँमा पुर्‍याइन्छ।

मधेस प्रदेशसमा लागुऔषधको फैलिँदो सञ्जाल र यसले समाजमा पारिरहेको प्रभावबारे भर्खरै रास्वपाबाट प्रतिनिधिसभा सदस्य बनेका पुरुषोत्तम यादवले आवाज उठाउँदै आएका छन्। लागुऔषधले मधेसी समाज दलदलमा भासिँदै गएकाप्रति उनले ध्यानाकर्षण गराएका छन्। उनले दुव्र्यसनीलाई सुधारात्मक र नियन्त्रणात्मक कारवाही अघि बढाउनुपर्ने बताए।

मधेसका गाउँसहरमा सेवनकर्ता र कारोबारी पहिलेभन्दा धेरै बढेका छन्। ठुलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुईचारजना कारोबारी समातेको भरमा तोड्न कठिन रहेको सामाजिक अभियन्ताहरू बताउँछन्। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबिचको ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती सहरहरू हुँदै आएका छन्।

प्रहरीले लागुुऔषध कारोबारीलाई समयसमयमा पक्राउ गरे पनि यो धन्दामा कमी आएको छैन। यो धन्दा संगठित गिरोहकै कारण बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन्। खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीहरूको दाबी छ।

सहज बाटो, सजिलो कारोबार

पछिल्लो समय गाउँगाउँमा सडक र सवारीको पहुँच बढेको छ। प्रहरीका अनुसार गाउँघर पनि सहरजस्तो भएसँगै लागुऔषधको जालो पनि फैलँदो छ। सीमावर्ती गाउँदेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण मधेसका युवा लागुऔषधको लतमा फसिरहेका छन्। लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रकाशित: ७ चैत्र २०८२ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App