अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च नेता अलि खामेनीको मृत्युपछि निर्वासित राजकुमार रेजा पहलवीले इरानको नेतृत्व गर्ने कुरालाई खारेज गरेका छन्।
मंगलबार ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानको नेतृत्वका लागि ‘देशभित्रकै कोही’ बढी उपयुक्त हुने बताए। उनले पहलवीलाई ‘धेरै राम्रो व्यक्ति’ र केही मानिसले उनलाई मन पराउने भए पनि आफ्नो प्रशासनले उनलाई गत शनिबार मारिएका इरानका सर्वोच्च नेता अली खामेनीको उत्तराधिकारीका रूपमा गम्भीरतापूर्वक विचार नगरेको स्पष्ट पारेका हुन्।
अमेरिका र इजरायलको संयुक्त सैन्य हमलाका कारण इरानको राजनीतिक र शक्ति संरचनामा ठूलो फेरबदल आएको छ। ट्रम्पले इरानीहरूलाई आफ्नै सरकारको बागडोर सम्हाल्न आह्वान गरिरहेका छन्। तर उनले इरानभित्र नेतृत्व गर्न सक्ने योग्य पात्रहरूको अभाव हुँदै गएकोतर्फ पनि संकेत गरे।
ट्रम्पले भने, ‘हामीले नयाँ नेताका रूपमा सोचेका धेरैजसो इरानी अधिकारीहरू मारिएका छन्। अहिले अर्को समूह अगाडि आएको छ, तर रिपोर्टअनुसार उनीहरू पनि मरेका हुन सक्छन्। यसरी नै तेस्रो लहर आउँदैछ, चाँडै नै हामीले चिन्ने कोही पनि त्यहाँ बाँकी रहने छैनन्।’
ट्रम्पले खामेनीको ठाउँमा ‘उनीजस्तै खराब’ व्यक्ति नेतृत्वमा आए अमेरिका-इजरायली सैन्य अभियानको वास्तविक लक्ष्य नै कमजोर हुने चेतावनी दिएका छन्। अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीमा खामेनी मारिएपछि इरानको शक्तिशाली ‘एक्सपर्ट एसेम्बली’ ले उनका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेतामा निर्वाचित गरेको जनाइएको छ।
उता, हालसम्म ह्वाइट हाउसले इरानको भावी नेतृत्वका लागि कुनै निश्चित व्यक्तिको नाम सार्वजनिक गरेको छैन। एजेन्सी
प्रकाशित: २० फाल्गुन २०८२ १५:३० बुधबार





