१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान अब इजरायलका लागि अस्तित्वको खतरा रहेन: प्रधानमन्त्री नेतान्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान र उसका क्षेत्रीय सहयोगीहरू विरुद्धको अभियानमा इजरायलले ‘ठुलो उपलब्धि’ हासिल गरेको बताएका छन्। 

निस्तार-चाड (पेशाख) को पूर्वसन्ध्यामा मंगलबार एक सन्देश जारी गर्दै उनले इरानले अब इजरायलको अस्तित्वलाई खतरामा पार्न नसक्ने दाबी गरेका हुन्। उनले इजरायल अहिले इतिहासकै सबैभन्दा बलियो अवस्थामा रहेको र विश्वले इजरायलको ‘सिंहको गर्जन’ सुनिरहेको उल्लेख गरे।

नेतान्याहुले अमेरिकाको साथमा इजरायलले इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक क्षेप्यास्त्र र क्षेत्रीय प्रोक्सी बललाई लक्षित गरी श्रृंखलाबद्ध आक्रमण गरेको बताएका छन्। उनका अनुसार इरानले आफ्नो सैन्य निर्माण र आणविक कार्यक्रममा खर्च गरेको एक ट्रिलियन अमेरिकी डलर बराबरको लगानी अहिले ‘खेर गएको’ छ। 

उनले यस अभियानलाई ‘दुष्टको धुरी’ विरुद्धको लडाइँ भन्दै यसलाई प्राचीन मिश्रको बाइबलीय १० विपत्तिसँग तुलना गरेका छन्। उनले हमास, हिजबुल्लाह, असद सरकार, हुथी र इरानभित्रै गरिएका पाँचवटा ठूला प्रहारलाई ती विपत्तिका रूपमा व्याख्या गरे।

नेतान्याहुले इरानका वरिष्ठ अधिकारी, वैज्ञानिक र आणविक पूर्वाधारमाथि गरिएका आक्रमणले तेहरानलाई उल्लेख्य रूपमा कमजोर बनाएको दाबी गरेका छन्। ‘हिजो इरानले हाम्रो घाँटी निचोर्न खोजेको थियो, तर आज हामी नै दबाब दिइरहेका छौँ,’ उनले भने, ‘इरानको नेतृत्व पहिलेभन्दा कमजोर छ र यो शासन अन्ततः ढल्ने निश्चित छ।’ उनले इरानको औद्योगिक क्षमता र भूमिगत सुरुङहरूमा लुकाइएका विनाशकारी हतियारहरूलाई इजरायलले नष्ट गरिदिएको दाबी पनि गरे।

नेतान्याहुले अमेरिका र इजरायलबिचको सैन्य सहयोग ‘अभूतपूर्व’ रहेको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्प र आफूबिचको सहकार्यले मध्यपूर्वको अवस्था बदलेको दाबी गरेका छन्। उनले इजरायलले अब गाजा, दक्षिणी लेबनान र सिरियाको माउन्ट हर्मोन नजिकै ‘बफर जोन’ (सुरक्षा क्षेत्र) स्थापना गरेको र यसले भविष्यमा हुन सक्ने घुसपैठको खतरालाई रोक्ने बताए। यद्यपि, इरान समर्थित समूहहरूसँग अझै केही क्षमता बाँकी भए पनि उनीहरूले अब इजरायलको अस्तित्व मेटाउन वा ठुलो मात्रामा मिसाइल वर्षा गर्न नसक्ने उनको तर्क छ।

इजरायली हवाई प्रतिरक्षा प्रणालीलाई विश्वकै उत्कृष्ट भन्दै उनले धेरै देशले रक्षा र सैन्य सहयोगका लागि इजरायलसँग सम्पर्क गरिरहेको जानकारी दिए। युद्धका क्रममा आफ्ना सैनिकहरूको ज्यान गएकोमा दुःख व्यक्त गर्दै उनले शत्रुतापूर्ण शक्तिलाई पूर्ण रूपमा कमजोर नपारेसम्म र सीमाहरू सुरक्षित नभएसम्म कारबाही जारी रहने स्पष्ट पारेका छन्। उनले दक्षिण लेबनानमा मारिएका सैनिकका परिवारप्रति समवेदना प्रकट गर्दै इजरायली अर्थतन्त्र युद्धका बाबजुद पनि बलियो रहेको र वृद्धि भइरहेको बताए।

साथै, उनले आफ्ना राजनीतिक विरोधी र सञ्चारमाध्यमको आलोचना गर्दै अस्तित्वको लडाइँका बेला ‘सानो राजनीति’ मा नअल्झिन र राष्ट्रिय मनोबल कमजोर नपार्न आग्रह गरे। नागरिक र सैनिकहरूको दृढ संकल्पकै कारण इजरायल आज क्षेत्रीय र केही क्षेत्रमा विश्व शक्ति नै बनेको दाबी नेतान्याहुको छ। उनले भनेका छन्, ‘शत्रुहरू आउँछन् र जान्छन्, तर हाम्रो अस्तित्व सुनिश्चित गर्ने दृढता नै हाम्रो भविष्यको ग्यारेन्टी हो।’ एजेन्सी 

प्रकाशित: १८ चैत्र २०८२ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App