इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले होर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण थप कडा बनाउँदै गएको संकेत दिएको छ। आइआरजीसी नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाजलाई आफ्नो समन्वय र अनुमति लिएर सुरक्षित रूपमा जलमार्ग पार गराइएको जनाएको छ।
आइआरजीसीको आधिकारिक वक्तव्यअनुसार तेल ट्यांकर, व्यापारिक तथा कन्टेनर जहाजहरूले होर्मुज जलमार्ग प्रयोग गरेका हुन्। ती जहाजहरूको सुरक्षाको जिम्मा पनि आइआरजीसी नौसेनाले नै लिएको दाबी गरिएको छ।
अमेरिका र इजरायलसँगको बढ्दो सैन्य तनावपछि इरानले होर्मुज जलमार्गलाई केवल अन्तर्राष्ट्रिय व्यापार मार्गका रूपमा नभई आफ्नो सुरक्षा रणनीतिको केन्द्रबिन्दुका रूपमा प्रयोग गर्न थालेको देखिन्छ। आइआरजीसीले जलमार्गमा “स्मार्ट नियन्त्रण” कायम गरिएको दाबी गर्दै जहाजहरूलाई पूर्वअनुमति अनिवार्य बनाएको छ।
नौसेनाका अनुसार मंगलबारदेखि शनिबारसम्म मात्रै ११७ वटा जहाजले उक्त मार्ग प्रयोग गरेका छन्। तर अब जहाजहरूले स्वतन्त्र रूपमा आवतजावत गर्न नपाउने स्पष्ट संकेत इरानले दिएको छ।
इरानका सर्वोच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले होर्मुज जलमार्गको व्यवस्थापन इरानको “कानुनी अधिकार” भएको बताएका छन्। उनका अनुसार यो कदम अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध गर्न नभई सम्भावित सैन्य आक्रमण रोक्नका लागि अपनाइएको सुरक्षा रणनीति हो।
यता, इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले पनि युद्धअघिको अवस्था तत्काल फर्किने सम्भावना नरहेको बताएका छन्। उनले अहिले जलमार्ग प्रभावकारी रूपमा इरानको नियन्त्रणमा रहेको उल्लेख गर्दै युद्ध समाप्तिपछि मात्रै जहाज आवतजावत सहज हुन सक्ने संकेत दिएका छन्।
रेजाईले इरानको युरेनियम संवर्द्धन कार्यक्रम कुनै पनि हालतमा वार्ताको विषय नबन्ने अडान दोहोर्याउँदै अमेरिका अन्ततः इरानका शर्त स्वीकार गर्न बाध्य हुने दाबी समेत गरेका छन्।
विश्लेषकहरूका अनुसार होर्मुज जलमार्गमाथि इरानको कडा नियन्त्रणले विश्व ऊर्जा बजारमा प्रत्यक्ष असर पार्न सक्छ। विश्वको ठूलो हिस्सा तेल निर्यात यही मार्ग हुँदै हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढाउने, आपूर्ति श्रृंखला प्रभावित पार्ने तथा विश्व अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गर्ने जोखिम बढेको छ।
इरानले फेब्रुअरी २८ पछि जलमार्गमाथिको नियन्त्रण तीव्र बनाएको हो। सोही दिन अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इरानले अमेरिका तथा इजरायलसँग सम्बन्धित जहाजहरूको सुरक्षित आवतजावतमा प्रतिबन्ध लगाएको थियो।
यसबीच अमेरिकाले पनि जलडमरूमध्य क्षेत्रमा नौसैनिक नाकाबन्दीलाई थप सक्रिय बनाउँदै इरानी बन्दरगाह आउने–जाने जहाजहरूको गतिविधिमा अवरोध सिर्जना गरिरहेको बताइएको छ। यसले मध्यपूर्वमा शक्ति संघर्ष अझ गहिरिँदै गएको संकेत दिएको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १५:४४ सोमबार





